पाँच बुँदे रारा घोषणापत्र जारी गर्दै प्रज्ञा–प्रतिष्ठानको बैठक रारा किनारामा सम्पन्न भएको छ । रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले नेपाल प्रज्ञा- प्रतिष्ठान, प्राज्ञ परिषद् रारा ताल पुगेको थियो ।
“सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा पहिलोपटक नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक सम्पन्न भयो । माननीय कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न बैठकले ५ बुँदे रारा घोषणापत्र-२०८० जारी गरेको छ । बैशाख १८ गते मङ्गलवार जारी गरिएको घोषणापत्र यसप्रकार रहेको छ :
१) नेपालको भाषिक र सांस्कृतिक विविधतालाई आत्मैदेखि स्वीकार गर्दै नेपाल प्रज्ञा -प्रतिष्ठानलाई सबैको साझा थलो बनाइनेछ।
२) सङ्घीय गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात् गर्दै परिवर्तनको सौन्दर्यलाई स्थापित गरिने छ ।
३) प्राज्ञ र प्राज्ञिक कर्मको जग उच्च नैतिकता, स्वच्छ संस्कार र छविको हुने हुनाले सोही अनुसारको कर्मलाई अनुसरण गरिने छ / गराइने छ ।
४) ज्ञानका बहुविध क्षेत्र र स्रोतहरूका बहस,अध्ययन, अनुसन्धान र अभ्यासहरूलाई बढी जोड दिइनेछ ।
५) आजको युगमा प्रश्न जुनसुकै क्षेत्र, तहतप्कामा आवश्यक छ । प्रश्न नै समाज रूपान्तरणको पहिलो आधार हो । त्यसैले प्रश्न आफैँसँग पनि गरिने छ । प्रश्नसँग सँगै काम गरिनेछ ।
उपर्युक्त” ५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च प्राज्ञिक खोज -अनुसन्धानका लागि एक कोसेढुङ्गा साबित हुनेमा आफू आश्वस्त रहेको कुरा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले बताउनुभयो ।