नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका दुई कृति ‘विविधा’ (समालोचनासंग्रह) र कान्छी छोरी (लघुकथासंग्रह) सार्वजनिक गरेको छ ।
प्राडा कुमारप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सभासद् मीना श्रेष्ठ, स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकार कलानिधि दाहाल, मन्जिला अनिल, लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, सदस्य रामकुमार पण्डित र अदिति श्रेष्ठले एकै साथ दुवै कृतिको लोकार्पण गरेका हुन्।
लघुकथा समाज नेपालका केन्द्रीय सदस्य रामकुमार पण्डित क्षेत्रीले ‘कान्छी छोरी’को समीक्षात्मक टिप्पणी गरेका थिए।
क्षेत्रीले ममता मृदुल सत्य र धर्मको पक्षमा सक्रिय भई साहित्य साधनामा लागिपरेको बताए। उनले समाजको विकृति र विसंगतिको चिरफार गर्दै त्यस्तो हुनु हुँदैन भन्ने सुधारवादी कथाकारको रूपमा आफूलाई चिनाएको बताए।
स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विविधा समालोचना संग्रहको समीक्षा गरेका थिए।
स्रष्टा समाज नेपालका अध्यक्ष रोदनले समालोचक ममता मृदुलले बडो रोचक,फरक र नयाँ शैली अपनाउँदै कृतिहरूको समीक्षा गरेको बताए।
उनले भने, ‘नयाँ पुस्तकलाई छिटोभन्दा छिटो संग्रहमा ल्याइएको छ। समालोचनासंग्रहमा फरकफरक व्यक्ति समेटिएका छन्। सबै पुस्तक उत्कृष्ट भएर समालोचना लेखिएका छैनन्। समालोचनाले राम्रा स्रष्टालाई बल पुगेका छन् भने नयाँ स्रष्टालाई झन् बल पुगेको छ।’
उक्त कार्यक्रममा लघुकथा समाज कोशी प्रदेशले ‘लघुकथा सौन्दर्य’ फेसबुक पेजमार्फत हुँदै आएको लघुकथा प्रतियोगिताका विजयी लघुकथाकारहरू गौरी न्यौपाने, मनीषकुमार शर्मा, रञ्जु खनाल, विन्दु अधिकारी ढकाल र सुशिला देउजालाई पुरस्कृत गरिएको थियो।
लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा लघुकथा प्रतियोगिताको संयोजक तुलसीहरि कोइरालाले लघुकथा विधा व्यापक रूपमा विस्तार हुँदै गएको बताए। उनले ‘लघुकथा सौन्दर्य’को प्रतियोगिता निरन्तर रूपमा भाद्रसम्म चलिरहने र उत्कृष्ट तीन जनालाई लघुकथा दिवसमा पुरस्कृत गरिने पनि बताए।
वरिष्ठ समालोचक कलानिधि दाहाले लघुकथा विधाले बृहत क्षेत्र ओगटै गएको बताए।
प्रमुख अतिथि प्राडा कुमार कोइरालाले डिजिटल युगमा पाठकको रूचि अनुसार लेख्न निकै कसरत गर्नुपर्ने सुझाव दिए।
ममता मृदुलले छोरीले आमा भएर अगाडि बढ्न भूमिका निर्वाह गरेकीले छोरीकै जन्म दिनमा छोरीको लोकार्पण गरेको बताइन्। उनले पछि परेका कथाकारलाई अगाडि ल्याउन तथा नयाँनयाँ कथा पढ्ने सोचले लघुकथा प्रतियोगिताको आयोजना गरेको पनि बताइन्।