पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ वेदका प्राचीन ऋचाहरूको मन्त्रोच्चारण आँखाबाट खस्न खोजेका मोती-बिन्दु घाम र जुनेलीसित हातेमालो गर्दै। माटो खोस्रिएर रोप्दछन् आकालको एउटा बिरुवा भेला भएर भोकको अँध्यारो उत्सवकालमा । ईश्वर ठिङ्ग उभिएको हुन्छ शरीरहीन शब्दहीन मुख्य अतिथिका रूपमा अनि सबै चुप लागेर बसेका छन् केही आश्वासनलाई रुँगेर भुइँभरि । खाली भुँडीको साङ्गीतिक प्रतिध्वनि ठोक्किन्छ बारम्बार छेउको सुकेको पहाडमा लाजले भुतुक्कै भएर दिउँसोको तिखो घाम सुटुक्क गएर लुक्छ बादलपारिको देशमा । दुवै हात उचालेर एक हुल मानिस उत्सव मनाउँदै छन् भोकको यता भोकको बिरुवा भने उम्रिँदै छ बाँझो परेको खेतभरि लटरम्म भएर । चक्रव्यूहभित्र छट्पटाउँदै छ भोकको सुदीर्घ श्वास-प्रश्वास । (तेजपुर, असाम)