उहिले नै छोराछोरीले धानको भात खान पाओस् भनेर बा / हजुरबाहरु फेदेन हुदै - हुदै मधेस झरे । र झर्यो उनीहरूसंगै आँखाको कोषमा टास्सिएर पल्लो किराँतको यादहरु । बालकै देखि हामीले पनि पल्टाइरह्यौ बा / आमाले बोकी ल्याएका यादहरुको एल्बम । पुजीरह्यौ उस्तै गरि सिमेभुमे, राखिरह्यौ थानथपना बनाइ आगनको छेउमा । सुब्बेफाब्बे होस्, दुख बिराम नहोस् भनी भाकिरह्यौ सगुने, बुढीबजु अनि थुप्रै किराँती देउ देवीहरु । मधेसमै जन्मिएर, हुर्किएर पनि औल्याइरह्यौ पुर्ख्यौली थलो । झुकाएर शिर चढाइरह्यौ श्रद्धा । वर्षौंदेखि मानिआएको आदिम सभ्यतालाई मानेन भनेर तिमी कसरी सोच्न सक्छौ ? (मोरङ)