काठमाडौं ।
प्रगतिवादी हिन्दी साहित्यका प्रखर समालोचक डा. मैनेजर पाण्डेयको ८१ वर्षको उमेरमा आज मृत्यु भएको छ । उनको अन्तिम संस्कार सोमबार हुँदै छ ।
पाण्डेयको जन्म सन् १९४१ डिसेम्बर २३ मा बिहारको गोपालगन्ज जिल्लामा भएको थियो । प्राथमिक शिक्षा आफू जन्मिएकै लोहाटी गाउँमा प्राप्त गरेका पाण्डेयले काशी हिन्दू विश्वविद्यालयबाट उच्चशिक्षा प्राप्त गरेका थिए ।
जोधपुर विश्वविद्यालयबाट प्रध्यापन सुरु गरेका पाण्डेय पछि दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा हिन्दीका प्रोफेसर थिए । उनले प्रगतिवादी हिन्दी साहित्यको विकासमा ठुलो योगदान गरेका छन् । उनी भारत लगायत दक्षिण एशियाली सबै देशमा पढिने प्रख्यात प्रगतिवादी समालोचक मध्येमा पर्छन् ।
उनका ‘सहित्य और इतिहास दृष्टि’, ‘शब्द और कर्म’, ‘साहित्य के समाजशास्त्र की भूमिका’, ‘ओलोचना की सामाजिकता’, ‘आलोचनामे सहमति असहमति’, ‘भारतीय समाज मे प्रतिरोध की परंपरा’ जस्ता कैयौँ आलोचनात्मक कृति प्रकाशित छन् ।
प्रगतिवादी समालोचक डा. मैनेजर पाण्डेयप्रति नेपाली साहित्य घर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।