सुरुवात र गन्तव्य
दुबै एकिन नभएको एउटा यात्रा
सँगै हिँडिरहेका थियौं हामी
एउटा तिमी र अर्को म ।
सँगै हिँड्नुको औपचारिकता
हामी हाँस्यौं,रोयौं र रमायौं साथसाथ
र कहिले
समायौं एक अर्काका हातहरु
भीरहरुमा, पहिराहरुमा र जँघारहरुमा ।
तिमी भन्थ्यौ–
यसैगरी हिंडनुपर्छ जीवनभर
तिमी भन्थ्यौ–
यसैगरी हाँस्नुपर्छ जीवनभर
र भन्थ्यौ–
यसैगरी जिउनुपर्छ हर जूनी
म मुन्टो हल्लाउँथें
(सँगै हुनुको औपचारिकता)
कहिले बुझेर
कहिले आधा बुझेर
त कहिले –
बुझ्दै नबुझेर ।
आखिर एकदिन
एउटा दोबाटो भेटियो
तिमी एउटा बाटो लाग्यौ
र म अर्को ।
दोष हाम्रो थियो या बाटोहरुको ?
हामीले
सँगै हिँड्न चाहेनौं
हामी रहरले छुट्टियौं
मैले थाहा पाएँ
रहरमा पनि कहिलेकाहीं
रसाउँदा रहेछन् आँखाहरु ।
मलाई लाग्यो
त्यो दोवाटो
पूर्णता थियो हाम्रो सहयात्राको ।
तिमीले भन्यौ रे
आधाबाटोमै छाडिदियो ।
म एउटा अलमल बाँचिरहेछु
तिमीलाई सोध्न मन छ
कहाँ हुन्छ बाटोको पूर्णता ?
आखिर कहिलेसम्म हिंडिरहन्छन्
मान्छेहरु सँगसँगै ?
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।