काठमाडौं।
श्री रत्नकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘यात्रा प्रेतात्मासँग’को असार २५ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा जगमान गुरुङ, साहित्यकार प्रमोद प्रधान लगायतले सो कृति लोकार्पण गर्नुभएको थियो । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको सो पुस्तक प्रेतसँगको साक्षात्कार र कुराकानीसँग सम्बन्धित छ । २०४० देखि २०५० सालका बीचमा लेखक आफैं सम्बन्धित भएका प्रेतसँगका चार घटनाको यथार्थ प्रस्तुति नै पुस्तकको विषय हो ।
कार्यक्रममा उपकुलपति डा जगमान गुरुङले नेपाली साहित्यमा यस प्रकारका पुस्तकहरू नभएको बताउँदै मानिसले भोगेका यस प्रकारका घटनासँग सम्बन्धित यो पुस्तकले नेपाली साहित्यमा नयाँ विषयको प्रवेश भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “भूतप्रेत, बोक्सी, धामीझाँक्री, तन्त्रमन्त्र सबै हुन्छन्। यसलाई गफमात्रै हो भनेर छाड्नु हुँदैन। शोधखोज गर्नुपर्छ।” अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले सधैँ हनुमानको सानो मूर्ति बोकेर हिँड्ने गरेको चर्चा गर्दै उहाँले हामीले चाहिँ आफ्नो धर्म, संस्कृति, रीतिथिति, प्रचलनलाई बेवास्ता गर्दै र बिर्संदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।
वरिष्ठ साहित्यकार तथा समालाेचक प्रमोद प्रधानले आख्यानात्मक शैलीमा लेखिएको यात्रा प्रेतात्मासँगको पुस्तक विषय, शैली र भाषा सबै दृष्टिकोणबाट रोचक र पठनीय भएको बताउनुभयो।
समीक्षक प्रभा बरालले मनमा हुने डर र बहमले भूतप्रेत देखिने गरेको विचार राख्नुभएको थियो ।
लेखक रत्नकुमार श्रेष्ठले आफूले देखेको भोगेको यथार्थलाई जस्ताको त्यस्तै प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पात्रहरूको नाम मात्र परिवर्तन गरेको छु, अरू सबै यथार्थ हुन्।”
सामयिक व्यवस्थापन सेवा केन्द्रका अध्यक्ष रामबाबु नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक ध्रुव नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा अध्यक्ष रामबाबु नेपालले प्रमुख अतिथि र वक्ताहरूलाई मायाको चिनोस्वरूप बुद्धको मूर्ति प्रदान गर्नुभएको थियो। पृष्ठ सङ्ख्या २१६ रहेकाे सो पुस्तकको मूल्य रू ३५०/- रहेकाे छ ।