‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले नेपाली साहित्यमा राष्ट्रिय पुरस्कार- २०२२ को घोषणा १० जुलाई, २०२२ मा गर्दै छ ।
‘हाम्रो स्वाभिमान ट्रस्ट’ ले वर्ष २०१२ मा राष्ट्रिय स्तरमा स्थापित भए उपरान्त नेपाली भाषा, साहित्य, संस्कृति एवं परम्पराको संरक्षण एवं सम्वर्द्धन गर्दै आएको छ। नेपाली साहित्यको विकासलाई विशेष महत्व दिँदै सन् २०२१ बाट राष्ट्रिय पुरस्कार दिँदै आएको छ। वर्ष २०२२ का लागि राष्ट्रिय पुरस्कारहरूको घोषणा ट्रस्टले १० जुलाई, २०२२ मा गर्ने छ। सो दिन आदिकवि भानुभक्त आचार्यको २०८औं जयन्तीको शुभ अवसरमा पूर्व आयोजित हुने कार्यक्रममा यो घोषणा गरिनेछ।
हाम्रो स्वाभिमानका सेट्लर ट्रस्टी, श्री प्रेम क्षेत्री, वरिष्ठ अधिवक्ताले जानकारी दिएअनुसार राष्ट्रिय पुरस्कारको उद्देश्य नेपाली भाषा र साहित्य सम्वर्द्धनका लागि जीवनपर्यन्त श्रद्धापूर्वक सेवा गर्ने सर्जक एवं भाषाप्रेमीको सम्मान गर्ने हो जसका कृतित्वले नेपाली समाजका भावी पिँढ़ी प्रेरित भएर साहित्यको सेवामा अग्रसर हुन सकुन्। ट्रस्टले राष्ट्रिय पुरस्कार छनोट हेतु ‘पाँच सदस्य चयन समिति’ गठन गरेको छ। समितिले निष्पक्ष एवं पारदर्शी ढङ्ले योग्य विजेता छनोटका लागि चयन प्रक्रियाको कार्य निर्धारित मापदण्डअनुसार गरिरहेको छ। चयन समितिले नेपाली भाषा-साहित्यका लागि दिएका उत्कृष्ट योगदानको कदर गर्दै र विभिन्न कारणवश ओझेलमा परेका स्रष्टाहरूलाई मान्यता दिने लक्ष्य राखेको छ। सोहीअनुरूप विजेताहरूको चयन गरिने कुरालाई प्राथमिकता दिएको छ। पुरस्कारको रूपमा अंगवस्त्र, स्मृति चिन्ह, प्रमाणपत्र एवं सम्मान राशि दिएर विजेताहरूलाई अलंकृत गरिनेछ।
श्री प्रेम क्षेत्रीज्यूले पुरस्कारको वर्गीकरणलाई स्पष्ट गर्दै अवगत गराउनु भयो कि-‘यो वर्ष साहित्यमा चार प्रकारका राष्ट्रिय पुरस्कार दिइनेछन्। पहिलो-‘नेपाली साहित्य सम्मान’। यो पुरस्कार भाषा र साहित्यको सम्वर्द्धनका लागि जीवनपर्यन्त कर्तव्यनिष्ठ भएर सेवा दिने व्यक्तिलाई दिइनेछ चाहे त्यो योगदान सर्जनशील भएर होस् या सेवा गरेर। दोस्रो- ‘नेपाली साहित्य पुरस्कार-पद्य’। यो पुरस्कारमा नेपाली साहित्यको पद्य विधामा अति विशिष्ट कृति एवं सेवा प्रदान गर्ने सर्जनशील स्रष्टाको लागि राखिएको छ। तेस्रो- ‘नेपाली साहित्य पुरस्कार-गद्य’। यो पुरस्कार नेपाली साहित्यको गद्य क्षेत्रमा अप्रतिम कृति एवं सेवा दिएर नेपाली साहित्यलाई समृद्ध बनाउने सर्जकलाई प्रदान गरिनेछ भने चौथो पुरस्कारमा पत्रकारिता एवं समाजिक क्षेत्रमा विशिष्ट योगदान दिने पत्रकारलाई दिइने छ।
श्री क्षेत्रीज्यूले थप जानकारी दिएअनुसार विजेताहरूलाई हरितालिका तिजको अवसरमा आगामी ३० अगस्ट, २०२२, तालकटोरा स्टेडियम, नयाँ दिल्लीमा आयोजना हुने भव्य कार्यक्रममा सम्मानित गरिनेछ।