यसपालि
संगठनका बेर्नामा
चाहनाका कोपिला न बसेर होला
उठेनन् उमङ्गका उचाइहरु
र
फक्रिएनन् जीतका सुवासिला फूलहरु
सायद
अल्छी माली परेर होला
भुलेका छन् बेर्नाले आफ्नै मालिहरुलाई ।
गाई गोठमा
बेला कुबेला छिरेका हुँडारहरुले
गाई बाछाको सिकार गर्दा
उब्जिएको
कारुणिक आवाजले
ब्युँझिन नसकेका गोठालाहरुलाइ
यसपालि
हाकाहाकी आफ्नो मालिक चुनेनन्
बिचरा गोठालाहरु
हारको अधोमुखले
सरापिरहेका छन् गोठ बासीलाई ।
थुम्काको सौतेलो ब्यवहारबाट
सताइएका गुँरासहरुले
यसपालि
थुम्कै बदलेछन्
सायद
थुम्कालाई यो चेतावनी हुन सक्छ
याद रहोस्
गुँरासे फुलहरु
थुम्काको बिश्वविद्यालय हुन् ।
चाकरहरुद्वारा पुजित मालिकले
भुल्दा चाकरको असली रुप
भोगेका छन् जुन नियति
हो त्यही नियतिको
फैसला लेख्यो
युगले एक पटक
र
सुनायो जनताको अदालतले
तिम्रो
मन्जुरी वा न मन्जुरीको के अर्थ ।
खरायो चालको घमण्डले
कछुवा चालको गतिलाई
आँकलन गर्न नसक्दा
पलाएको ऐँजेरुले
मुल हाँगो लछार्दासम्म
बेखवर बनेर बस्नेहरुलाई
चाकरिको सफेद तौलिले छोपेर
माछोमाछो भ्याकुताको उखान
एक कान दो कान गर्दै
बजारसम्म लैजाँदै छन्
भजाउन खोटा सिक्काहरु
चाकरी "च" को ।
हाँगाको खेती गर्नेहरुले
मुलको महत्त्व भुलेर
बिभाजित स्वार्थले
एकै कागजमा
बिभाजित अभिव्यक्ति प्रकट गर्दा
उब्जिएको अनपेक्षित परिणामलाइ
हाँगाकै अभिसाप हो भन्ने भुल्नेहरुलाइ
समय
उस्को आगमनलाइ पर्खिरहेछ।
नागरिक आदेश बिपरीत
लालिपपे "ल" का पिछालग्गुहरु उमारेर
सत्ताको सिनु लुछ्न लालयित
एक हुल माझिहरुको बिरुद्ध
क्रन्तिकारी ढुङ्गाहरु संगठित हुँदै छन् ।
किनकि
ढुङ्गाहरुले
भत्काउनु छ
भ्रमका पर्खालहरु
उमार्नु छ चेतना बिरुवाहरु
र
स्थापित गर्नु छ
ढुङ्गाहरु माझिका असली मालिक हुन भन्ने सत्य।
(महोत्तरी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।