पोखरा, ११ जेठ ।
नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए ।
बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो ।
अमोर सेवा नेपालले अभिभावक विहीन बालबालिकालाई आश्रय दिँदै आएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले साहित्यकार सुरजले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएको जनाए । अध्यक्ष सुवेदीले कृति प्रकाशनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धतासहित ५ सय थान पुस्तक खरिद गरी पालिकाका विद्यार्थीलाई वितरण गर्ने प्रतिवद्धता गरे ।
सुवेदीले विद्यार्थीकालमा साहित्यकार सुरज सम्पादक रहेको वेदना पत्रिकामा लेखरचना प्रकाशन गरेकोसमेत स्मरण गरे । उनले अमोर सेवा नेपालको विकासमा सघाउने प्रतिवद्धतासमेत गरे । सुवेदीले भने, ‘यो स्याङ्जाको एकमात्र बाल आश्रम हो । पालिकाले सक्ने बुताको सहयोग गरी नै हाल्छौं । प्रदेश, संघ सरकारमा पनि सहयोगका लागि समन्वय र सहकार्य गर्ने प्रतिवद्धता गर्दछु ।’
फेदीखोला १ का वडाध्यक्ष अमृत क्षेत्रीले अनावश्यक खर्च कटौती गरी मानवीय सहायता गर्ने खालका संस्थालाई सघाउने परिपाटीलाई प्रोत्साहन गर्नुपर्ने विचार राखे । अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुलीले आश्रयविहीन बालबालिकालाई आश्रय दिएर सरकारले गर्नुपर्ने काममा सरकारी निकायबाट उचित सहयोगको अपेक्षा गरिन् ।
उनले गाउँपालिका, प्रदेश र संघ सरकारबाट पूर्वाधार निर्माण, बालबालिकाको पठनपाठन लगायत अन्य कार्यका लागि भरपर्दो सहयोग हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा अमोर सेवा नेपाली अमृता गुरुङले पनि बोलेकी थिइन् ।
‘साइकल’ सुरजको तेस्रो कृति हो । यसअघि उनको एक गजल संग्रह र चिल उड्यो आकासमा बाल कविता संग्रह प्रकाशन भइसकेका छन् । बालमनोविज्ञानलाई नयाँ बिम्ब प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस उनी विचारमार्फत् चेतना पनि सँगसँगै भर्छन् ।