७ जेठ, काठमाडौं ।
‘समीक्षाको आधार कृति, लेखक र पाठक यी तीन तत्व हुन्छ । पाठकमा दर्शक र स्रोता पनि हुन्छन् ।’ वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले आज एक पुस्तकमाथि चर्चा गर्ने क्रममा सो कुरा बताउनु भएको हो । जनयुद्धका क्रममा सहिद हुनभएका लमजुङका शिक्षक वाशुदेव शर्मा अधिकारीद्वारा रचित ‘कुनचाहीँ धर्म कुनचाहीँ अधर्म’ नामक पुस्तकबारे इच्छुक सांस्कृतिक प्रतिष्ठानमा सम्पन्न विमर्श कार्यक्रममा उक्त पुस्तकबारे चर्चा गर्दै चैतन्यले भन्नुभयो– ‘ब्रह्मणवादी सामन्तवादी विचारधाराका विरुद्ध साम्यवादी विचारका पक्षमा लेखिएको सुन्दर र कलात्मक कृति ‘कुनचाहीँ धर्म कुनचाहीँ अधर्म’ हो ।’
‘आकारमा सानो भएता पनि यति गहन पुस्तक लेख्नुभएका लेखक वाशुदेवले जनयुद्धकालमा शाहीसेनाको चरम यातनाबाट पनि नगलेर मृत्यु वरण गर्नुले उहाँ शब्द र कर्मका एकत्वका रूपमा पनि आफूलाई अब्बल सावित गर्नुभयो’ चैतन्यले भन्नुभयो । सो पुस्तकको विषयवस्तुमा धार्मिक, राजनीतिक र दार्शनिक पक्षमा रहेता पनि काव्यतत्वका हिसावले पनि कलात्मक, भावात्मक र शिल्पतत्वले पनि सुन्दर रहेको चैतन्यको भनाइ थियो ।
पुस्तक माथि चर्चा गर्दै पूर्वीय दर्शनलाई भौतिकवादी ढङ्गबाट चिरफार गर्दै आउनुभएका विद्धान वक्ता गोपीरमण उपाध्यायले ‘यति गहन कृति वाशुदेवले लामो अध्ययन गरेर प्रस्तुत पुस्तक लेख्नुभएको हो’ भन्नुभयो । परम्परागत आध्यात्मिक दर्शनलाई भौतिकवादी चेतबाट अध्ययन नगरी यस्ता पुस्तक लेख्न सकिँदैन भन्ने गोपीरमणको भनाई थियो । उहाँले प्रस्तुत पुस्तकले धर्मका नाममा ठग्ने ब्राह्मणवादी प्रवृत्तिको राम्रोसँग चिरफार गरेको बताउनुभयो । पुस्तकमाथि चर्चा गर्ने अर्का वक्ता प्राध्यापक डाक्टर जगदीशचन्द्र भण्डारी हुनुहुन्थ्यो । उहाँले पुस्तकबारे चर्चा गर्दै पुस्तक समाजशास्त्रीय, विचारधारात्मक रूपमा लेखिएको बताउनु भयो । पुस्तकले पौराणिक धर्मग्रन्थहरूको खण्डनमण्डन गरेको भण्डारीको भनाई थियो । दर्शन, चिन्तन र विचारधाराको अन्तरघुलनबाट ‘कुनचाहीँ धर्म कुनचाहीँ अधर्म पुस्तक लेखिएको प्राध्यापक भण्डारीको भनाइ थियो ।
अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समितिको आयोजनामा भएको विमर्श कार्यक्रममा बोल्दै लेखक वाशुदेव अधिकारीका समकालिन व्यक्ति रामचन्द्र अधिकारीले लेखकको व्यक्तित्व, कृतित्व निकै उच्च रहेको बताउनुभयो । उहाँले आफूहरू नाताले दाजुभाइ परेता पनि राजनीतिक सङ्गठन फरक भएको भन्दै वाशुदेव समाजमा निकै लोकपृय व्यक्तित्व र निकै विद्धान भएको बताउनु भयो । विचारका हिसावले वाशुदेवले माओवादी पार्टीलाई समर्थन गरेता पनि उहाँ प्रत्यक्ष युद्धमा समावेस नभएको तर वैचारिक हिसावले भौतिकवादी दर्शन चेत राम्रो भएकै कारण तत्कालिन सेनाले उहाँको हत्या गरेको रामचन्द्रको भनाई थियो ।
आयोजक सङ्गठनका उपाध्यक्ष रविकिरण निर्जीवको अध्यक्षतामा भएको यस कार्यक्रममा उहाँले वाशुदेवको यस पुस्तक प्रकाशन गर्न आफूले निकै मिहिनेत गरेर समाजलाई गुण लगाएको छु भन्नुभयो । कार्यक्रमको सञ्चालन सङ्गठनका महासचिव अनिल श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य सङ्गठनका अध्यक्ष मित्रलाल पंज्ञानीले गर्नुभएको थियो । पंज्ञानीले स्वागत मन्तव्यका क्रममा प्रस्तुत पुस्तकको सङ्क्षिप्त चर्चा गर्नुभएको थियो । वास्तवमा उक्त पुस्तक सङ्कटकालमा आफू जेल परेको र पाण्डुलिपि पुलिसले जफत गरेर पनि जेलबाट छुटेर उक्त पाण्डुलिपी पुनः पुलिसबाट फिर्ता लिएर प्रकाशन गरेर साहित्यकार रविकिरण निर्जीवले वाशुदेवलाई न्याय मात्रै गर्नु भएको छैन कि यो पुस्तकले समाजलाई महत्वपूर्ण खुराक दिएको कार्यक्रममा सहभागीहरूको धारणा थियो । उक्त कार्यक्रममा प्रस्तुत पुस्तकको केही पङ्क्ति कविता कवि बलराम तिमिल्सिनाले पढेर सुनाउनुभएको थियो । लेखक सहिद वाशुदेवका छोरा रामहरी अधिकारीले आफ्ना बुबाको सङ्क्षिप्त परिचय दिँदै उहाँले घरबाटै विद्रोह गरेको र राजनीति, दर्शनका क्षेत्रमा आफूहरूलाई पनि बुबाले निकै प्रेरणा दिएको बताउनु भयो ।