म हिउँ पर्दा
पग्लिसकेको हुने छु
हिमालहरु डढिसकेका हुने छन्
फूलका हाँगाबाट आगो निस्किरहेको हुने छ।
तिमी आइपुग्दा
म टाडा कतै पुगिसकेको हुने छु
तिमीलाई खोज्दै।
कस्को बिजबाट उम्रिएँ कुन्नी
पतझड भएँ म।
म सधैं हुरीलाई स्वागत गर्छु
किन होला मलाई सधैं लागिरहन्छ
आगोले मलाई शितलता दिन्छ
पत्थरले मलाई कोमलता दिन्छ
सटिक पहिचान गर्नुपर्ने रहेछ
नत्र कुन ढुंगा मन्दिरमा राख्ने
कुन ढुंगा सिरानीमा राख्ने
खुट्याउन गाह्रो पर्ने रहेछ
अनि किन डराउनु आगोसँग
आगो खान पाएको दिन
ठुलो शान्ति मिल्छ।
म सिद्धान्त हराएको मान्छे
म चेतना हराएको मान्छे
त्यसैले सादा पन्नामा हस्ताक्षर गर्दै हिँड्छु।
म पानीमा आगो बालेर तापिरहेको हुने छु
आगोले नुहाइरहेको हुने छु
म गाली गर्दा खुसी भइरहेको हुने छु
माया गर्दा रोइरहेको हुने छु।
यस्तै हुँदो रहेछ चेतना हराएपछि
रामायणलाई रावयण पढिरहेको हुने छु।
म मुटुलाई ढुंगा किन देख्छु हँ !
म ओछ्यानलाई चिहान किन देख्छु ?
यो त अति नै भयो यार
म सिरानीलाई बिरामी किन देख्छु ?
म खुसी भइरहनु भनेको केही पाइरहनु लाग्थ्यो
मैले सधैं पाइरहनेहरू खुशी थिएन छ
म आफ्नै वरिपरि मलामीहरू देख्छु।
पागलहरुको देशमा आफू एकलो सज्जन लाग्छ
सज्जनहरूको देशमा आफू एकलो पागल लाग्छ
सिद्धान्तबादीहरूले बनाएको अनाम देशमा
आऊ साथी एकछिन पागल भएर बाचौं
एकछिन सिद्धान्तहीन भएर बाचौं।
(कलकत्ता, भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।