मेरो मृत्यु उत्सव मनाएर श्रद्धाञ्जलीको फ्रेम बोकी चहर्याइरहेको घाउमा नुन छर्न , छट्पटाइ रहेको आफ्नाहरुको अर्धमृत शरीरमा निर्ममतापुर्वक तिर हान्न, रोदनका चिच्याहटहरुलाई मजाक बनाउन, सान्त्वना नामको आदर्श बोकी मेरो बस्तीहरुमा आउने अधिकार थिएन तिमीलाई । हिजो पनि तिमी नै आउँथ्यौ छेपारोझैँ रङ्ग फेरेर मेरो मायाको चिहान बनाउन, हरेक बहानामा तड्पाई तड्पाई मार्न आज चोट दिने तरिका रुपान्तरण गरी आएछौ क्यारे हिजो प्रत्यक्ष आयौ आज अप्रत्यक्ष बस् तरिका फरक भएछ तर चोटको दुखाइ हिजोभन्दा आज दर्दनाक र भयानक भएछ । बिगत म मात्रै दुख्थेँ , वर्तमान तिमीले दिएको पीडामा आफ्नाहरु समेत दुख्ने भएछन् । त्यसैले मृत्युपछिका तिम्रा खोक्रा प्रेम र समवेदनाका चाङ्हरु लिएर म रित्तिएको मेरो बस्तीमा आउने अधिकार थिएन तिमीलाई । तिमीसँगको सतित्व बचाउन कैयौँ रहर र चाहाना बन्दकी राखी कठाङ्ग्रिने तुसारोमा आफूलाई पचाएँ , आँशुको पोखरीमा नुहाएर फलामको चिउरा चपाएँ । तर खै किन यति प्रिय लाग्यौ थाहा भएन अनेकौं प्रश्नका शृङ्खलाहरु सिरानीमा अनुत्तरित प्रश्न भएर खसिरहे तर तिम्रो क्रूरताको पराकाष्ठालाई सिमाङ्कन गर्न कहिल्यै सकिनँ । जबकि मापन गर्न नै नसकिने असिमित त्यसैले मैले छोडेको बस्तीमा फेरि कहिल्यै नआऊ सहानुभूतिको त्यो खोक्रो पर्दा लिएर पुनः बिथोल्न । तिमी देखिने मेरा सम्मुखहरु दुर क्षितिजकै प्रतीत भै सके प्रिय अब नआऊ कजिल्यै !! (भोजपुर ४, सिद्देश्वर, मान्द्रे)