घरमा तिनलाई हेला भए बेग्लै हो
बीच बाटोमै अबेला भए बेग्लै हो ।
घर नपुगी बास बस्दैनन् त्यसरी
फेरि पनि झमेला भए बेग्लै हो ।
उदासिन छ दुनियाँ रमझमदेखि,
रंगी बिरंगी मेला भए बेग्लै हो ।
सक्दैनन् सुनिरहन गुरुको प्रवचन
असल जिज्ञासु चेला भए बेग्लै हो ।
परिश्रमी हो कि होइन कसरी चिन्नु
हातमा तिनको ठेला भए बेग्लै हो ।
(बागमती ११,कर्मैया,सर्लाही)