झिल्को हो यो
चोटैचोटबाट ठोक्किएर निस्केको झिल्को
असमानता र अत्याचारको घर्षणबाट
उछिट्टिएको झिल्को
निर्जीव ढुंगाा ढुंगा ठोक्किएर बलेको झिल्को होइन
त्यसले त केवल डढाउँदो रहेछ
सुकेका झार र सुकेका पातहरु
जो निभ्न सक्छ पानीले
बर्सातको झरीले ।
यो त चोटैचोटबाट निस्केको झिल्को हो
निभाउन सक्दो रहेनछ यसलाई
हुरी, बतास र असिनाले
न त अविरल बर्षाले नै
बगाउन सक्दो रहेछ,
बरु जलाउन सक्दो रहेछ यसले
जिउँदै जल्लादहरुका जंगलहरु
असमानताका काँडेघारीहरु ।
निस्कँदो रहेछ झिल्को
कठोर यातना अनि चित्कारहरुबाट
उनका प्रतिशोधहरुबाट
जल्दै गरेका शरीरहरुबाट
जो हाँस्न चाहन्थे
दिलबाट
जो गाउन चाहन्थे आफनै मनका गीतहरु
जो मनाउन चाहन्थे आफनै उत्सवहरु ।
सानो झिल्कोले सल्काउँदो रहेछ
विशाल महलहरुले सजिएका सहरहरु
महलभित्रका श्रीपेचहरु
बैभव र दरिद्रताको
संर्घषबाट उछिट्टिँदो रहेछ झिल्को
निभ्दो रहेनछ
निरन्तर एकपछि अर्को झिल्को
निस्किरहेको छ
निरन्तर निस्किरहन्छ झिल्को ।
झिल्को निस्कँदो रहेछ
त्रासबाट, अत्याचारबाट
सक्दो रहेनछ निभाउन
समुद्रको पानीले पनि
निभाउन हिम्मत कहाँ हुन्छ ?
ज्वालामुखीझैं फुटिरहन्छ
भुलभुले मूलझैं निस्किरहन्छ यो ।
जहाँ मानवतालाई जलाइन्छ
जहाँ समानतालाई जलाइन्छ
निस्किन्छ झिल्को
एकपछि अर्को गरेर
कहिल्यै नबिलाउने
नहराउने
आवाजविहीन मान्छेका
मनमस्तिष्कबाट
इन्कलाबको नारा लगाउँदै
निस्किँदो रहेछ झिल्को
दुख र पीडाको निरन्तर
संर्घष र द्वन्द्वबाट निस्किन्छ झिल्को
संसार बदल्ने झिल्को ।