“What’s in a name ?
That which we call a rose
By any other name’
Would smell as sweer.” -William Shakespeare (Romio & Juliet)
उपरोक्त नाट्यसंवाद उगेल्ने नाट्य सम्राट शेक्सपियर हुन् । “वाट्स इन अ नेम ?” अर्थात् नाममा के छ ? नाममा के छ के छैन भन्ने कुरो शेक्सपियरलाई केही थाहा नभए पनि उऩले उपरोक्त नाट्यसंवाद लेखिसकेपछि त्यसको तल्तिर वा फेदतिर अवश्यै उनको नाम लेखेकै छन् । ‘वाट्स इऩ अ नेम ?’ लेखेर उनले त्यसको पछिल्तिर वा तल्तिर आफ्नो नाम नलेखेका हुन् ता विशेष कारणवश या परिस्थितिवश उपरोक्त नाट्यसंवाद उद्धृत गर्नुपर्दा वा भन्नुपर्दा ‘अज्ञात’ लेखेरै वा भनेरै भए पनि काम टार्नुपर्थ्यो ।
नपुंसकवाची यो ‘नाम’ शब्दको शब्दकोशीय अर्थ हुन्छ, कुनै खास विषय वा वस्तु वा जाती वा व्यक्तिलाई चिनाउने शब्द ; खास व्यक्ति वा पाल्तू प्राणीलाई बोलाउऩे शब्द, सुनाम, कीर्ति, ठीकसँग चिनाउन सक्ने शब्द । नाम बिनाका व्यक्ति वा वस्तु वा पाल्तू प्राणी बिरलाकोटि पाइएलान् । घरमा पालिने कुकुर मात्र होिन तर भूस्याहा कुकरको समेत नाम राखिएको पाइऩ्छ । घरमा पालिने कुकुरको नाम प्रायः अङ्ग्रेजी शब्दबाटै राखिएको पाइऩ्छ ।जस्तै ; लुसी, डेनी, टाइगर, जिमी आदि आदि । तर भूस्याहाको कुकुरको नाम प्रायः नसुने पनि आफ्नो सजिलोको लागि बाटा हिँड़्नेहरूले कुकुरको रङ् वा शरीरको आकार हेरेर नाम राख्ने गरिएको पाइन्छ । जस्तै; राते वा राती, टाटे वा टाटी, काले वा काली, पाङरे वा पाङरी, लुते वा लुती, लुइरे वा लुइरी, खैरे वा खैरी आदि आदि ।
नाट्य सम्राट शेक्सपियर आज छैनन् । उनी आजसम्म पनि बाँचेका हुँदा हुन् ता अहिल्यै नै उनलाई ई-मेल मार्फत् भन्नेथिएँ – “सम्माननीय नाट्य सम्राट शेक्सपियर बाजे ! तपाईले के भनेर ‘वाटस् इऩ अ नेम ?’ भन्नुभो ? नाममा के छ भनेर संसारभरि उधुम मचाउने तपाईँले चाहिँ किन आफूले सिर्जना गरेका रचनाको सिरानमा कि चाहिँ त्यसको फेदमा आफ्नो नाम लेख्नुभो ? नलेख्नु पर्ने थियो नि ! त्यसो गर्दा तपाईको नामोनिशान नरहे पनि तपाईंले लेखेका रचनाका रचनाको सिरानमै कि ता त्यसको फेदतिर चोर साहित्यकारले निर्धक्क आफ्नू नाम टाँसेर नाट्य सम्राटको पगरी गुँथी होलाआफ्नो गाउँ-ठाउँमा ता को’नि तर सात समुद्र पारी हकडक चलाइरहेका हुन्थे । तर तपाईको प्रत्येक कृतिमा तपाईको नाम लेखिएकाले चोर साहित्यकारलाई अठ्याङ परेको कुरा पत्याउनुहुन्छ होला अवश्यै पनि । नाममा के छैन (?) नाट्य सम्राट शेक्सपियर बाजे ! नाममा सबथोक छ । तपाईको नाम प्रयोग गरेरै विद्वानको पगरी गुँथ्नेहरू कति छन् कति यो संसारमा ! तपाईलाई थाहा छ कि छैन को’नि ? ठूल्ठूला शहरको बाटा-घाटाहररू तपाईकै नाममा राखिएका छन् । तपाईकै नाम र कामको कदर र सम्मान गर्दै ठेलीका ठेली ग्रन्थहरू लेखिएका छन्, लेखिनेछन् । यो हजूरकै नामको करामति होइन ? फेरि तपाई भन्नुहुन्छ ए बाजे नाट्य सम्राट ! ‘नाममा के छ ?’ तपाई कसरी कुन मुखले भन्नुभो ? साँच्चै ! हे नाट्य सम्राट ! म औधी गौरवान्वित छु,, भक्कुचूर नतमस्तक छु तपाईका सम्पूर्ण जाति, तपाईको समाजप्रति । जुन समाज र जातिले तपाईको नाम सुवास संसारभरि फैलाए । तपाईका क्रियाकलाप, गतिविधि, विश्व नाट्य संसारमा तपाईको अमूल्य योगदानको कदर गर्दै तपाईका समाजको कसैले पनि तपाईको विश्वप्रसिद्ध नामलाई निमिट्यान्नै पार्ने चेष्टा नै गरेको देखियो न धूलिसात पार्ने दुःस्साहस नै । तपाईको नामसित इखिने, डाह गर्ने, ईर्ष्या गर्ने कोही पनि देखिएनन् । अद्यावधि देखिएका छैनन् । कति उदार तपाईको समाज ! कति महान् तपाईका जाति ! तरे पनि केही नसोंची फ्लाकिहाल्नु भो, वा यसौ भनुँ तपाईले तपाईका पात्रलाई फ्लाक्नु लाउनुभयो –
“What’s in a name ?
That which we call a rose
By any other name’
Would smell as sweer.”
हुन ता हे नाट्य सम्राट शेक्सपियर बाजे ! त्यसताका तपाईसित इखिने, डाह गर्ने, ईर्ष्या गर्ने तपाईका छिन्द्रान्वेषीहरूले तपाईको नाम गुम (वेपत्ता) गरिदिएका भए पनि तपाईको प्रतिभालाई छेकेर वा रोकेर राख्न सक्ने थिएनन् नै । तपाई भनेका नाट्यसूर्य । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ र शेक्सपियर बाजे ? तपाईले लेखेका नाटकहरू, तपाईले नलेखेर क्रिष्टोफर मार्लोले लेखेका हुन् भन्ने पनि तपाईमाथि लाञ्छना नलगाएको होइन । तपाईको नामलाई बदनाम गर्ने वा तपाईको नामलाई नाट्य संसारको सङ्घारबाट जरैसित उखेल्ने प्रयास गरेकाले तपाईले शायद भन्नुभएको हो’कि ! ‘वाटस् इन अ नेम ?’ के ठेगान ! नाम होइन काम गरेर जित्नुपर्छ भन्ने तपाईको अप्रत्यक्ष व्यङ्ग्यवाण हो’कि, कि तपाईका छिन्द्रान्वेषीहरूलाई यो कटाक्ष ? तपाईको नाम सुन्ने बित्तिकै तपाईलाई टकटकाउनेहरूलाई नली खुट्टाको रौं जत्ति पनि नमानी, कुनै टेँड़पूच्छर नलाई नै तपाईले लेखिरहनु भो कि लेखिरहनु भो । गहिरो समुद्रमा पानी बिस्तारै बगेजस्तै तपाई पनि नाट्य संसारको महासमुद्रमा विस्तारै बग्दै संसारभरि फैलिनुभयो । सोही नाट्य संसारको महासमुद्रबाट एक अञ्जुली पानी पिएर नाट्य संसारमा हरहरती भएर काकाकुली तिर्सनाले छटपटिनेहरू आज धितमरिञ्जेल तिर्खा मेट्न सफल र सबल भएका छन् ।
हे नाट्य सम्राट शेक्सपियर बाजे ! हाम्रो जातिमा, हाम्रो समाजमा पनि काम गर्नेलाई कगर गर्दै उनको नाम सुवास फैलाउन, उनका कृतिलाई जनमानससम्म पुऱ्याउन आफ्नो रगत पसिना फुर्मास गर्ने महान्-महान् व्यक्तिहरू छन् नि छनु ता । तीमध्येमा तपाईलाई एकैजना उदार व्यक्तिको नाउँ यहाँ बतीउन मन लागेको छ । ती व्यक्ति हुन् – मोतिराम भट्ट । जसले भानुभक्तलाई नेपाली संसारमा चिनाए । भानुभक्तोक नाम र र कामसित कुनै डाह, ईर्ष्या, आह्रिस नगरी मोतिराम भट्टले उनको कृतिलाई प्रकाशमा ल्याइदिए । उनले भानुभक्तसित कपटी गरेका हुँदा हुन् वा भानुभक्तलाई ईर्ष्या गरेका हुँदा हुन् ता भानुभक्तका सबै रचनाहरू आफ्नै नाममा लेखी आफू जातीय कविका रुपमा आज परिचित एवम् चर्चित हुने थिए हाम्रा आदरणीय अनुसन्धानकर्त्ता मोतीराम भट्ट । तर उऩले त्यसो गरेनन् । तपाईको समाज र जातिप्रति म गौरवान्वित भएजस्तै एकजना उदार साहित्यकार एवम् पत्रकार मोतीराम भट्टको कुरा सुनेर तपाईँ पनि हाम्रो समाज र हाम्रो जातिप्रति गौरवान्वित हुने काम छैन नि शेक्सपियर बाजे !लाखेस् ! हाम्रो जाति र हाम्रो समाजमा कसैको नामसित डाह गर्ने, आह्रिस गर्ने, ईर्ष्या गर्नेहरू पनि छन् नि ! कसैको नामको डरले तर्सिने र आत्तिनेहरू पनि छन् नि बग्रेल्तै । जसरी लादेनको नाम सुन्नेहरू थरथरी नकामेको होइन । जर्ज बुस मात्र होइन नि जर्ज बुसको कुकुर समेत लादनेको नाम सुन्ने बित्तिक्कै भुक्न छोड़ी पूच्छर लुकाएर एक कुनामा डल्लो परी चुपौ लागि श्वास न वास भएर बस्थ्यो भन्ने पनि सुन्नमा आएको छ । झन् श्रीमती जर्ज बुस ता उऩको घरको टिभीमा लादेनजस्ता लामा-लामा दारी सरिका र फेटा बाँध्ने कुनै पनि मान्छे देखिन् कि मुटु दुःखेर फत्रक्क-फत्रक्क पर्थिन ‘रे । लादेन नामको डरले श्रीमती लादेनले अमेरिकाभरिका जण्डा-जण्डा धामी-झाँक्रीले फुकफाक् गरेका पाँच तोला सुनको बुटी घाँटीमा झुण्डयाएकी थिइन् भन्ने पनि गाइँगुइँ नभएको होइन । यसैले ता लादेनको नाम-निशान मेट्टाउन बुसले लादेनलाई धुइँपत्ताल लाएर शेष पारे । तर लादेन संसारभरि प्रशिद्ध भए ।
हो नाट्य सम्राट शेक्सपियर बाजे ! तीन किताब छिचोलिरहेको मेरो कान्छो छोरो, तपाईको पनातिलाई एकपल्ट ‘बाबु ! ठूला भएर वा पढ़िसकेर तिमी के हुन्छौ भन ता !’ भनी सोध्दा आफ्ना दाहिने कलिलो हात आफ्नो छातीमा बजार्दै भनेको शब्दहरू अद्यावधि मेरो कर्णकुँवरमा गुञ्जिरहेछ । हेर्नोस् ता नाट्य सम्राट शेक्सपियर बाजे ! लादेनको सिमे-सिण़्डेले भेटेका उत्तरआधुनिक पुत्र अर्थात् पोष्ट-मोडर्न ग्रेट ग्राण्डसन !
हाम्रा यतातिर रावण बदनाम छन् । रामलाई यतातिर ईश्वरकै रुपमा हेर्ने गर्दछौं । रावणको समाजमा पनि हाम्रा राम बदनाम होलान् । यता हामी प्रतिवर्ष रावणको पुत्ला जलाएर रावणप्रति आक्रोश, विद्रोहवमन गर्छौं । हेर्नोस्, म रावण होइन न कि राम नै । न ता श्रीकृष्ण भगवान् नै । मेरो नाम पनि कृष्ण । श्रीकृष्ण भगवान् र यो साधारण हुतिहारा, लोतिखोरे कृष्णमाझ धेरै अन्तर भए पनि श्रीकृष्ण भगवान् कारावासमा जन्मेका हुन् भने यो कृष्ण चाहिँ खरसाङ थानाको फेमिली क्वाटरमा जन्मेको हो । श्रीकृष्ण भगवान्को पछि-पछि सय गोपिनीहरू लट्ठ भई प्रेमातुर हुन्थे भने यो कृष्णका हजारौं विद्यार्थीहरू नतमस्तक भई ‘नसम्ते सर ! नमस्ते सर !’ भन्दै मलाई श्र्द्धा निवेदन गर्छन् । यसकारण हे नाट्य सम्राट शेक्सपियर बाजे ! नाममा के छ होइन धेरै छन् । सबथोक छ ।
तपाईंलाई एउटा नितान्त व्यक्तिगत कुरा पनि बताइहालुँ क्यारे ! हाम्रो यतातिर आयोजन हुने एकाध साहित्यिक कार्यक्रम, पुस्तक, पत्र-पत्रिका लोकार्पण समारोहमा मलाई पनि मुख्य अतिथि, विशिष्ट अतिथि, प्रमुख अतिथि, वा प्रमुख वक्ताको रुपमा निम्त्याइऩ्छ कहिले काहीँ । मसँगै एउटै आसनमा बस्ने सभाशिरोमणि तथा अऩ्य अतिथिको नाम यहाँ छापिने अखबरारमा छापिन्छ अरे भन्ने सुनेको छु । तर उक्त अखबारमा भूस्याहा पत्रकारले मेरो नाम पटक्कै छाप्दैन भन्ने कुरो सुनेको मात्र छु तर मैले आफ्नै आँखाले भने देखेको छैन । किनभने त्यस्तो पक्षपातित्वको अहङ्कार बोकेरआफै धामी आफै बोक्सी हुने अखबारम पढ़्दै-पढ़्दिनँ । मेरो नाम छाप्दाम यो संसारबाट निमिट्यान्ने हुने होइन अनि मेरो मान ठूल्ठूला अक्षरमा हेड लाइनमै छापिँदा पनि एकैरातमा म तपाईलाई पनि उछिनेर महानभन्दा पनि सुपर महान् नाटककार पटक्कै हुने होइन कि कसो बाजे शेक्सपियर ? मेरो ता एउटै विचार छ सो के भने, काम गर्दै जानुपर्छ, त्यस्ता नाम ता कति आउँछ-आउँछ । जस्तो कि तपाईले गर्नुभएको छ ।
अतिथिवर्गको लामबाट मेरो नाम दूधबाट झिँङा फुत्त निकालेर मिल्काएजस्तै टपर्टुइँय्ये पत्रकार वा भातको लागि मात्र प्रुफ रिडिङ् गर्ने तथाकथित् विद्वान प्रुफ रिडरले रातो जेल पेनले ेमेरो नाम डिलिट गरिदिँदैमा यो ‘कृष’ कहाँ डिलिट हुने हो र ! मृगको कस्तुरीको वासनालाई जति नै छोप्ने मूर्ख प्रयास गरे पनि त्यो कहाँ छिप्छ र ? खै क्रिष्टोफर मार्लोले पनि तपाईँको नाम निशान कहाँ मेटाउऩ सके र बाजे महोदय ?
म अतिथिको आसनमा विराजमान भएको, मैले बोलेका कुराहरू वा मेरो नाम भोलिपल्टको अखबारमा ऩआउँदा हिजो उपस्थित हुने विद्वतजनले ती अखबारका भूस्याहा पत्रकारलाई कुन दृष्टिले हेर्लान् अऩि ती विद्वतजनले निष्पक्ष अखबारको निष्पक्ष पत्रकारितामाथि के कस्ता अड़्कल-अनुमान लाउलान् त्यो पनि सोंच्ने कुरा छ । आफूलाई निर्भीक र निष्पक्ष ठान्ने अखबारको निष्पक्षतामाथि व्यङ्ग्य हाँसो हाँस्लान्, नाक-मुख खुम्च्याउलान् । मेरो नाम नछापिँदैमा म सँगसँगै मेरो नाम धुलिसात हुने होइऩ अनि मेरो नाम नछाप्ने अखबारले सरकारको अखबार विभागबाट न सर्वश्रेष्ठ पुरस्कार पाउऩे हो न ता मेरो नाम डिलिट गर्नेलाई मासिक भत्ता बढ़ाएर दिन दुइगुणा रात चौगुणा गर्ने हो ।
मेरा शुभचिन्तकहरूले मुट्ठीभाष मार्फत् अखबारमा मेरो नाम नछापिएको कुरा खिसी हाँसो हास्दै मलाई सुनाउँछन् । यसमा मेरो प्रतिक्रिया जान्न नखोजी उनीहरू भन्छन्, “कृष्ण भाइ ! आजको अखबारमा तपाईको नाम ता आएन रहेछ । टुप्पोबाट पलाएको र फेदबाट पलाएको पत्रकार यहीँबाट चिनिन्छ ।”
यसबारेमा मेरो भन्नु केही छैन । मलाई बाह्र हातको टाँगोले छुने होइन । एक मनले ‘वाटस् इन अ नेम’ भन्ने तपाईको भन्ने तपाईको नाट्यसंवाद ठिकै ठिकै पनि लाग्छ । हत्केलाले घामलाई कहाँ छेक्न सकिन्छ र, होइन ? घाम घाम नै हो ; हत्केला फगत् हत्केला मात्र । हे नाट्यसम्राट शेक्सपियर बाजे ! चिनेको बाहुनले आफ्नो जनै देखाइरहनु आवश्यकता छैन होइन र ! एक सय भन्दा धेर नाटक लेखी तपाईजस्ता महान् नाट्यसम्राट शेक्सपियरलाई उछिन्ने र विश्व नाट्य फाँटमा आफ्नो दमाहा बजाउऩ चुरीफुरी गर्नेले पनि तपाईको नामलाई धराशायी पार्नु ता कहाँ सके, होइन र ? किनभने नाट्य सम्राट शेक्सपियर भनेका शेक्सपियर नै हुन्, यसमा हजारौं क्रिष्टोफर मार्लोहरू जन्मे तापनि कुनै लछारपाटो लाउन सक्ने थिएऩ । लाखौं ताराहरू माझ एउटै जूनको उज्याली काफी हुन्छ । त्यसै सन्दर्भमा भन्नुपर्दा, तपाईका अदेख नाती यो ‘कृष’-को नाम अखबारमा नछापिदिनेले वा छाप्न नचाहनेले वा प्रुफ हेर्दाको समयमा मेरो नामको डरले, मेरो नामको डाहले पोली रातो मसीले मेरो नाम डिलिट गर्नेले गतिलै वीरता र बहादुरीको काम गरे ठान्दा हुनन् । ती टपर्टुइँय्येहरूले आफूलाई ठान्ने गरेका वीरता र बहादुरीलाई तिनका पूच्छरेहरूले भयङ्कर ठाने तापनि म चाहिं त्यस्ता वीरता र बहादुरीमा खुसामदी रगत सल्बलाएको पाउँछु अनि ती खुसामदी रगतमा सामान्य एक सिता भातको निम्ति वफादारी हेमोग्लोबिन पाउँछु । मेरो नाम नछापिनुमा कसैको दोष नभएर यो खुसामदी रगतको दोष हो भन्ने लाग्छ मलाई ।
हे महान् नाट्यसम्राट शेक्सपियर बाजे ! मैले हेर्दै नहेर्ने, पढ़्दै-नपढ़्ने, किन्दै-नकिन्ने अखबारमा मेरो नाम छापिँदैन भन्ने कुरो सुनेपछि म भित्र-भित्र भक्कुचूर खुशी र गौरववान्वित हुन्छु । भक्कुचूर खुशी र गौरवान्वित किन हुन्छु भने, मेरो घरकै आँगनमा मेरो नामसित डराउनेहरू पनि रहेछन् । मेरो नामको डरले पोल्नेहरू, थुरथुर हुनेहरू बाहेक पनि मेरो नामको डरले जर्ज बुसको कुकुरजस्तो लादेनको डरले पूच्छर लुकाउऩे पनि रहेछन् भन्ने छतछती प्रमाण भएको छ । मेरो नामको डरले थुरथुर भएर लगलग् काम्नेहरूले मलाई लादेन नै पो ठान्दा रहेछन् भन्ने कुरो पनि मलाई छ्याङ्ङै भएको छ । सत्यको पक्षधर भई असत्यक डढ़ेलो सल्काउने विभिषण पो ठानेका रहेछन् भन्ने कुरामा म सोह्रै आना आश्वस्त र विश्वस्त भएको छु । त्यतिमात्र होइन, मेरो नामको डरले आछुआछु हुनेहरूले मेरो नाम अखबारमा नछापेको देख्दा, रावणजस्तो व्याभिचारी, अहङ्कारी पुरुषलाई तिरिखिरी पार्ने अऩि आफ्नो पूच्छरले रावणको लङ्का खरानी बनाउने वीर हनुमान नै ठान्दारहेछन् भन्ने पनि मलाई कता-कता अनुमान लाग्न थालेको छ ।
तुच्छ मरञ्च्याँसे बाँदर ठानी हुनुमानसित सेखी गर्ने महाबली भीमलाई आछुआछु पार्ने विकराल हनुमान पनि ठान्दा हुन् मलाई मेरो नामको डरले तर्सिनेहरू । गुरु द्रोणाचार्यको मूर्ति आफू सामुन्ने राखी धनुर्विद्या सिकेपछि निपुण हुने एकलव्य पनि ठानेका होलान् मेरो नाम अखबारको छातीबाट मिल्काउने वा उड़ाउने अनि मेरो नामको डरले सातो-पुत्लो उड़ेका महान्-महान् ऐरे-गैरे-नत्थुखैरे तथाकथित टपर्टुइँय्ये पत्रकारहरू । मेरो नामको डरले बिहान-बेलुकी आत्तिइनेहरू, तर्सिनेहरू अनि छुलछुल हुने भूस्याहा पत्रकार महोदयले मलाई हिरोसिमा तहननहस पार्ने हाइड्रोजन बम पनि ठान्दा होलान् । मेरो नामको डरले थुरथुर हुने कातरहरूले मलाई जापान छताछुल्ल पारी ज्यान-माल सर्वनाश पार्ने सुनामी पनि ठान्दा होलान् । मेरो नामको डाह र ईर्ष्या अनि डरले हजारौंपल्ट मर्दा हुन् तथा भित्रभित्रै सल्केर। वन सखाप पार्ने डढ़ेलो पनि ठान्दा हुन् क्यारे विचारा लुइँतामे पत्रकारहरूले । मेरो नाम आफ्नो कपीमा लेख्न नपरोस्, प्रुफ कपीमा मेरो नाम हेर्न नपरोस् भनी रातदिन उनीहरूका इष्ट-देवता भन्दा हुन् – ” हे ईष्टदेव ! घरिघरि फलानुको नाम लेख्न नपरोस् । किनभने उनको नामको डरले मेरो मुटुले ठाँवै छोड़्नु मात्र होइन मेरो होश-हवास समेत उड़्न मात्र होइन हाम्रो भात खाने पेटमा ऱ्याइँ-ऱ्याइँ गाइनेको सारङ्गीको पार्श्व घुन बज्न थाल्छ ।”
यसैकारण, मेरो नाम कातर अखबारमा नछापिएको हो भन्ने कुरो म मेरा आदरणीय एवम् सम्माननीय शुभचिन्तकहरूलाई जानकारी गराउऩ चाहन्छु । झुसेमुसे अखबारमा मेरो नाम नछाप्दा तपाईको नातीको नली खुट्टाको रौं पनि हल्लिने होइन क्यारे ! विशाल समुद्रबाट एक बाल्टी पानी उबाउँदैमा समुद्रको पानी कहीँ घट्छ र (?) होइन बाजे महोदय ! खासै करो चाहिँ के हो भने, मेरो नाम छापेर मेरो नामको डरले थुरथुर हुनेहरू कसैको पनि पेटमा लात हान्ने पक्षमा ठ्याम्मै छैन म । मेरो नामले कसैको भात खोसियोस् त्यो पनि चाहन्नँ म । यति हो मेरो नामको डरले उनीहरूलाई वनको बाघले नखाए पनि मनको बाघले चाहिँ चाहिँ चौबिसै घण्टा, चौबिसै प्रहर कोपरिरहोस्, चिथोरिरहोस् भन्ने रातदिन म मेरा ईष्टदेवतालाई बल-विन्ति मागरिहन्छु । मेरो नाम नछाप्नेलाई लछेप्रै धन्यवाद र कृतज्ञता प्रकट गर्दै आशीर्वाद दिन चाहन्छु – “त्रसित भवः । अहर्निशं त्रसित भवः ।”
देख्नुभो (?) महान् नाट्यसम्राट शेक्सपियर बाजे ! तपाई भन्नुहुन्छ ‘what’s in a name ?’ अर्थात् ‘नाममा के छ ?’ मैले भनेँ नि के छैन रहेछ नाममा ? देख्नुभो बाजे हजूर ! तपाईका अदेख नातीको नामको चमत्कार ? एउटा सामान्य नाम डरले कतिलाई पिरोल्दो रहेछ वा सिस्नुपानी हुँदोरहेछ ता ! हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई राणाहरूले पानी खेदो गरी उऩको नाम धमिल्याउने मूर्ख प्रयास गरेकै हुन् । खै के लछारपाटो लाउऩ सके र राणाहरूले ? महाकवि देवकोटाको नामको डरले राणा शासन तहसनहस भएको इतिहास साक्षी छ । राणाहरू लगायत देवकोटाका छिन्द्रान्वेषीहरूले देवकोटाको नाम धमिल्याउन प्रयास गरे पनि , उनको नाम उच्चारण गर्न नाकनिक गरे पनि सात समुद्र पारीकाहरूले अद्यावधि देवकोटाको नामआदर र सम्मानपूर्वक फ्लाकिरहेकै छ ता । देवकोटाको नाम सुन्ने बित्तिक्कै उनलाई पानीखेदो गरी उनलाई राँची पागलखानामा पठाउने उनका तमाम् छिन्द्रान्वेषीहरूले कति चोटि आफ्ना सुरुवाल भिजाइसक्थे…सक्थे…त्यसको कुनै हिसाब-किताबै छैन । लु हेर्नेास् नाट्यसम्राट शेक्सपियर बाजे ! कतिको ताकत र शक्ति रहेछ ता एउटा सामान्य नाममा ? तर तपाई भने प्याच्चै भन्नुहुन्छ – ‘what’s in a name ?’
हे नाट्यसम्राट शेक्सपियर बाजे ! एकजना नोबेल पुरस्कार प्रापक स्रष्टाले नोबेल पुरस्कार पाएको खबर त्यहीँकै एउटा लोकप्रिय अखबारले नछाप्दा उनका लाखौं प्रशंसकले उक्त अखबार पढ़्न छोड़्नु मात्र होइन ती अखबारका सम्पादकलाई विशाल जनसमुद्रमाझ ती नोबेल विजयी स्रष्टाको खुट्टा समाती माफी माग्न लगाएको कुरा तपाई थाह छ कि छैन को’नि ? तर यसमा विचारा सम्पादक महोदयको दोष ठ्याम्मै थिएन । दोष थियो भने उनकै टपर्टुइँय्ये उप-सम्पादकको । काम गर्ने कालु मकै खाने भालू भनेजस्तो, दोष गऱ्यो एकजनाले त्यसको शास्ती भोग्नुपऱ्यो अर्काले । एक बिराउने शाखा पिराउने यसलाई भनिन्छ । जीवनभरि कहिल्यै कसैसित नझुक्ने ती सम्पादक महोदयले बिना विच्चामा अर्काको खुट्टा ढोग्नु परेन अनि ? लसुन पऱ्यो कल्लाई कल्लाई प्याज पऱ्यो मलाई भनेजस्तै भयो होला विचारा ती सम्पादक महोदयलाई । बाजे शेक्सपिय़र ! म चाहिँ त्यस्तो काम पटक्कै गर्दिनँ , कुकुरले मलाई टोक्यो भन्दैमा खेदी-खेदी त्यसलाई उल्टो टोक्ने आदत र आदर्श चाहिँ मेरो छैन, पटक्कै छैन । तपाईको नामलाई मनपराउनेहरू लाखौं-करोड़ौं भएजस्तै तपाईको यो अदेख नाती केटो ‘कृष’-को नाम मन नपराउनेहरू तपाई जत्तिकै त्यत्ति धेर नभए पनि यस्तै हजार-दुइएक ता होलान् । ऐरे-गैरे-नत्थुखैरे एकाधले मेरो नाम मन नपराउँदैमा वा मेरो नाम नछापिदिँदैमा म मेरो काम र कर्त्तव्यदेखि म एक डेग डगमगाउने होइन न ता म मेरो गुणलाई त्याग्ने नै हो । यसबारेमा हेनतेन नबखानेर अन्त्यमा मेरो नाम नछाप्दाको हर्षमा चाणक्यको एउटा ठुङमार्दो भनाइ यहाँ राख्न चाहन्छु –
“छिन्नोSपि चन्दनतरुर्जजहाति गन्धं
वृद्धोSपि वारणपतिर्न लीलाम् ।।
यन्त्रार्पितो मधुरतां न जहाति चेक्षुः
क्षीणोSपि न त्यजति शीलगुणं कुलीनः ।।”
अर्थात्, [चन्दनको रुख काटिए पनि त्यसबाट वास्ना आउन छाड़्दैन । हात्तीले आफू बृढ़ो भए पनि भोक विलास गर्न छाड़्दैन । उखुले कोलमा पेले पनि मधुरता गुलियोपन छाड़्दैन । कुलीन पुरुष दरिद्र नै भए पनिआफ्नो शील र गुणलाई त्याग्दैन, गुणशील व्यक्तिले जस्तै आपद्-विपद् परे पनि आफ्नो गुणलाई त्याग्ने इच्छा गर्दैन ]।
मेरो नाम उनको अखबारमा नछाप्ने अनि मेरो नामको डरले हजारौंपल्ट मर्दै, बौरी उठ्दै अनि फेरि मर्दै खुसामदी रगतको प्रमाण गर्न तम्सिने भूस्याहा तथा ऐरे-गैरे-नत्थुखैरे तथाकथित पत्रकार साथीको नाममा मेरो दुवै काखी बजाउँदै हार्दिक अभिवादनस्वरुप आजै निम्ति कवितांश उनलाई उनको व्यक्तिगत ई-मेलमा आजै पठाउँदैछु –
“न छिप्छ वास् कस्तुरीको कसै गरोस्
न लुक्छ आगो कहिँ नै लगी धरोस् ।।”
सिलिगुड़ी (भारत)