काठमाडौं ।
राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा एमसिसीका विरुद्ध संघर्षरत ६ दल सम्बद्ध र स्वतन्त्र संस्कृतिकर्मीहरुले नयाँ बानेश्वर संसद भवन अगाडि भव्य रुपमा प्रतिरोधसभा सम्पन्न गरेका छन् ।
अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीको अध्यक्षता र आरोहको सञ्चालनमा सम्पन्न प्रतिरोधसभालाई प्रकाश थापाले स्वागत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वाधीनताको पक्षमा क्रान्तिकारी गीत, नृत्य, कविता र मन्तव्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार, कवि, साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा दर्जनौं स्रष्टाहरुले आफ्नो काव्यिक रचना प्रस्तुत गरेका थिए । चर्चित क्रान्तिकारी कविहरु विष्णु भण्डारी, बलराम तिमिल्सिना विप्लव, गौरी देवकोटा, छायादत्त न्यौपाने, इन्दिरा अधिकारी, नारायण शर्मा विपिन, ऋतु केसी, रामप्रकाश ज्ञवाली लगायतले कविता प्रस्तुत गरेका थिए भने सामना सांस्कृतिक परिवार र रक्तिम सांस्कृतिक परिवारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कलाकार माइला लामा, आरोह, प्रदिप देवान, अनिस योञ्जन लगायतले एमसीसीका विरुद्ध क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।
गीत, कविता र मन्तव्यमार्फत् स्रष्टाहरुले एमसिसी सम्झौता खारेज हुनुपर्ने र देशभक्त क्रान्तिकारीहरुले राष्ट्रघाती एमसिसी सम्झौता खारेज नहुँदासम्म आन्दोलन जारी राख्ने विचार व्यक्त गरेका थिए ।