दुर्घटनाले मात्र यात्रा कहाँ रोकिदोरहेछ र राजमार्ग अबरुद्ध भएपछि विकल्पमा, रोजेको हुँ मैले गल्लिको बाटो । छिचोल्न जीवनको पथ आकासको जूनकै भरोसा लाग्छ जुनकीरीकै धिपधिपे देखेर हौसला बढ्छ यहाँभन्दा ठुलो म कुन साहस गरुँ ! पहिरो गएको भाग्यको भूगोलमा गुराँस बनेर रङ्ग्याउँन सम्भव देखिनँ, र त केतुकी बनेरै फुलेको हुँ देख्नेहरुले कमल देखि दिए यहाँभन्दा ठुलो मलाई कुन सफलता मिलोस् ! गल्लीका भुसियाहरुको संगतमा छु नबुझेझैँ गरेर तिनका भाषाहरु नजानेझैँ गरेर तिनका चरित्रहरु कुँईकुँई गर्नेहरुसँग पनि, निस्वार्थ उदार बनेर मित्रता गरें यहाँभन्दा ठुलो परिवर्तन म आफूमा के गरुँ ! पुग्नै परेपछि गन्तब्यमा छिचोल्नै परेपछि यात्रा बलियोसँग बाँधेर आफ्नो भागको भारी बोकिरहें चौतारो, धारो र बिसौनी खोइ कहाँनेर थियो र ? मात्र चिरनिद्राको दिन विश्राम गर्नेछु यहाँभन्दा ठुलो इमानदारीता म कसरी देखाऊँ ! तिमीले रोपेका फूलहरु बालिग भइसके वंशज तिम्रो रह्यो भौगोलिक परिचय मात्रै मेरो हकमा पर्यो गल्लीको साँघुरो बाटोमा हिँडेर, यहाँभन्दा ठुलो जिम्मेवारी बहन म के गरुँ ! पापी दुई नजर छन् मसँग पनि देखिरहेकोछु यो दुनियाँ आखिर फरक त पर्छ नै, अँध्यारो पाटोमा मेहनतको मैन पगालेर उजिल्याउने प्रयासमा तल्लिन छु यहाँभन्दा ठुलो परिश्रम म खोइ के गरेर देखाऊँ ! मैले पूरा गर्न नसकेको भए कुनै जिम्मेवारी भन, अझै म समयको चितामा कति सल्किनुपर्ने हो परीक्षाको बेदिमा मैले कति होमिनुपर्ने हो संस्कार र संरक्षणको पुरुषबारमा ठोक्किन, अझै कति पुस्ता कुर्नुपर्ने हो भन, दिवङ्गत पति ! तिमी बिनापनि मैले संसार देख्न सकें म यो संसारको तामझाम हेरिरहेको छु तिमीलाई यदि यो स्वीकार छैन भने, गान्धारीलेझैं म नेत्रमा पट्टी बाधिँदिन सक्छु भन मेरो दिवङ्गत पति ! भन, अझै मैले गर्नु पर्ने बाँकी कर्म र कर्तव्य के के हुन् ??? (गैंडाकोट न.पा. नवलपुर)