दुर्घटनाले मात्र यात्रा
कहाँ रोकिदोरहेछ र
राजमार्ग अबरुद्ध भएपछि
विकल्पमा,
रोजेको हुँ मैले गल्लिको बाटो ।
छिचोल्न जीवनको पथ
आकासको जूनकै भरोसा लाग्छ
जुनकीरीकै धिपधिपे देखेर
हौसला बढ्छ
यहाँभन्दा ठुलो म कुन साहस गरुँ !
पहिरो गएको भाग्यको भूगोलमा
गुराँस बनेर रङ्ग्याउँन
सम्भव देखिनँ,
र त केतुकी बनेरै फुलेको हुँ
देख्नेहरुले कमल देखि दिए
यहाँभन्दा ठुलो मलाई
कुन सफलता मिलोस् !
गल्लीका भुसियाहरुको संगतमा छु
नबुझेझैँ गरेर तिनका भाषाहरु
नजानेझैँ गरेर तिनका चरित्रहरु
कुँईकुँई गर्नेहरुसँग पनि,
निस्वार्थ उदार बनेर मित्रता गरें
यहाँभन्दा ठुलो परिवर्तन म आफूमा के गरुँ !
पुग्नै परेपछि गन्तब्यमा
छिचोल्नै परेपछि यात्रा
बलियोसँग बाँधेर
आफ्नो भागको भारी बोकिरहें
चौतारो, धारो र बिसौनी
खोइ कहाँनेर थियो र ?
मात्र चिरनिद्राको दिन विश्राम गर्नेछु
यहाँभन्दा ठुलो इमानदारीता
म कसरी देखाऊँ !
तिमीले रोपेका फूलहरु
बालिग भइसके
वंशज तिम्रो रह्यो
भौगोलिक परिचय मात्रै मेरो हकमा पर्यो
गल्लीको साँघुरो बाटोमा हिँडेर,
यहाँभन्दा ठुलो जिम्मेवारी बहन म के गरुँ !
पापी दुई नजर छन् मसँग पनि
देखिरहेकोछु यो दुनियाँ
आखिर फरक त पर्छ नै,
अँध्यारो पाटोमा मेहनतको मैन पगालेर
उजिल्याउने प्रयासमा तल्लिन छु
यहाँभन्दा ठुलो परिश्रम म खोइ के गरेर देखाऊँ !
मैले पूरा गर्न नसकेको भए कुनै जिम्मेवारी
भन,
अझै म समयको चितामा कति सल्किनुपर्ने हो
परीक्षाको बेदिमा मैले कति होमिनुपर्ने हो
संस्कार र संरक्षणको पुरुषबारमा ठोक्किन,
अझै कति पुस्ता कुर्नुपर्ने हो
भन,
दिवङ्गत पति !
तिमी बिनापनि मैले संसार देख्न सकें
म यो संसारको तामझाम हेरिरहेको छु
तिमीलाई यदि यो स्वीकार छैन भने,
गान्धारीलेझैं म नेत्रमा पट्टी बाधिँदिन सक्छु
भन मेरो दिवङ्गत पति !
भन,
अझै मैले गर्नु पर्ने बाँकी कर्म र कर्तव्य के के हुन् ???
(गैंडाकोट न.पा. नवलपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।