खचाखच् यी इन्छाहरूका लागि
फगत रेलकै प्लेटफार्म मात्रै हो कि यो जिन्दगी!
कुद्छन् ठेलमठेल गर्दै इच्छाहरू यो प्लेटफार्ममा
एउटासित अर्को ठोकिँदै
एउटाले अर्कोलाई कुल्चिँदै
लछार्दै पछार्दै
हुत्याउँदै, कुल्चिँदै,
कसैलाई कसैको वास्ता छैन
कसैलाई कसैको चिन्ता छैन
सिर्फ डब्बामा पसिहाल्ने हतार छ सबैलाई
सिर्फ गन्तव्यमा पुगिहाल्ने हतार छ सबैलाई,
म आफैलाईसम्म कुल्चने यी इच्छाहरूलाई
कहिले निमिट्यान्न बनाउन खोज्छु
झन दुबो जस्तो मौलाउँछन्
घाँटी निमोठ्न खोज्छु
झन स्याउँ स्याउँ सलबलाउँछन्
हुत्याउँछु झन विरोध गर्छन्
दबाउँछु झन नारा लाउँछन्
हप्काउँछु झन जुलुस निकाल्छन्
मलाई नै चारैतिरबाट घेरा हाल्छन्
मलाई नै नजरबन्दमा राख्छन्।
(नयाँ दिल्ली)