पैसा, बैंस र शक्तिको गलत उपभोगले आधुनिक मानव सभ्यता विकृत बन्दै छ। पुराना दर्शन र वाद मक्किदै छन्। यिनले अब संसारको भार थेग्न सक्दैनन्।
जात र धर्मको झुल्स्याउने आगो भित्रभित्रै दनदनी बल्न छोडेको छैन।एउटा बेग्लै विश्वदर्शनको सुत्रपात गर्नुपर्यो। एकजना प्रख्यात दार्शनिक गम्भीर चिन्तन गर्नथाले।
अर्कोतिर विनाशकारी तेस्रो विश्वयुद्ध हुने हो कि ! संसारका शान्तिवादीहरु पनि भयभीत थिए।
धेरै बर्षको गहन विचार मन्थनपछि दार्शनिकको मनमा एउटा अनौठो जुक्ति जन्मियो।ती प्रभावशाली दार्शनिकले विश्व हाँक्ने नेतृत्व समक्ष अनेक कोणबाट आफ्नो विचार प्रस्तुत गरे। विश्वका शक्तिशाली मानिसहरु दार्शनिकको एउटा प्रयोगात्मक कार्यक्रममा सामेल हुन सहमत भए।
सहरको एउटा किनारमा रहेको विशाल हलमा कार्यक्रम गर्ने स्थान तोकियो।विश्वभरका राष्ट्रप्रमुख,धार्मिक, राजनीतिक सबै क्षेत्रका शक्तिशाली मानिसहरू जम्माभए।सुरक्षाको कडा बन्दोबस्त थियो।
तर त्यहाँ न भव्यमञ्च थियो, नकुनै तामझाम।पाहुनाहरु अचम्म मानिरहेका थिए।
महामहिमहरु भित्र हलमा ईश्वरको आगमन भएको छ।आज पृथ्वीका शक्तिशाली मानिसहरुलाई भगवान स्वयं भेट्न आउनु भएको छ।तर ईश्वर दर्शन गर्नु अगि वहाँको एउटा सर्त छ । दार्शनिकको रहस्यमय कुरा सुनेर उपस्थित सबैका कान चनाखा भए।
भित्र हलमा ईश्वरको दर्शन गर्न जानुअगि सबैजना सर्बाङ्ग नाङ्गो हुनुपर्नेछ।दार्शनिकको थप भनाईपछि हलमा मौनता छायो।
केहीबेरपछि सबैजना कड्किए।
तिमी हाम्रो अपमान गर्दैछौ दार्शनिक, हाम्रो शक्ति कति छ तिमीलाई राम्ररी थाहा छ।
दार्शनिक विनम्र भएर भन्नथाले।
यदि , ईश्वर दर्शनबाट चित्त बुझेन भने, मलाई मृत्युदण्ड दिनुहोला।
तैँचुप मै चुप।सबैजना सर्बाङ्ग नाङ्गा भए।के नारी के पुरुष के मालिक, के नोकर।राजा न, सडकछाप मजदुर।सबैलाई प्रवेश खुल्ला थियो। हलमा नाङ्गा मान्छेहरू सबै उस्तै देखिए।
भगवानको प्रत्यक्ष दर्शन गर्न सबै आतुर थिए।
तिमीहरूले पैसा ,पहिरन,बैंस र शक्तिको अहंले खिचेको रेखा कता हरायो । तिमीहरुमा अब फरक के छ राजा या रंक। आखिर मानिस सर्वाङ्ग नाङ्गो छ।
प्रकृति जस्तै।अनि यो हिंसात्मक दंभको हुंकार किन शरीर ढाकेको सबै गहना,कपडा खोलेर नाङ्गो हुनासाथ सबै समान भयौ त ।
दार्शनिकले विशिष्ट र शक्तिशाली भनिएका मान्छेतिर नजर टिकाएर व्यङ्ग्यको तीर हाने।
हलमा उपस्थित पृथ्वीका शक्तिशाली नाङ्गा मान्छेहरूले नाङ्गो हुनुको विशिष्ट सूत्र बुझेपछि शिर झुकाए।
(दमक, झापा)