आँसुको जहर पिएर तिम्रो सहरको गल्ली गल्लीमा भौतारिएँ केवल तिम्रै प्रतीक्षाको अतृप्त चाहानामा तर तिमी आएनौ प्रिय । केवल आए त तिम्रा सुकोमल पदचापहरुले उछिट्याएका धुलाका साना साना कणहरु पुनः भिजाउन यिनै निर्दोष परेलीहरु । चुपचाप स्वीकारेँ, सम्झेँ यिनै हुन् तिमीले पठाएका असली स्पर्शका कोसेलीहरु जुन मेरो अप्राप्यताभित्रको अमूल्य प्राप्ति । भाग्य विभिन्न जिन्दगीका कालखण्डहरुमा आफैले गरेको निर्णयको अर्को नाम पनि रहेछ । हो त्यही बन्दी कोठरीमा कैयौँ सपना कैद गरेर मात्रै एक चिम्टि सिन्दुरमा सर्वस्व सुम्पनु पनि रहेछ । कम्प्युटरको स्क्रिन कहाँ रहेछ र जीवन जहाँ हरफहरु हमेसा लयवद्द भएर प्रकट हुन विपरीत दिशाबाट आएका धर्साहरुको मिलन पनि त रहेछ । नियति र निर्णयको समजोडभित्र हाम्रा यादहरुलाई अनिर्णयको बन्द कोठामा बन्दी बनाई मात्रै नियतिको बज्रपात भोग्नु पनि त रहेछ । (भोजपुर)