काठमाडौं, १५ पुस ।
आज वौद्ध धर्मावलम्बी गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व ल्होसार देशका विभिन्न भागमा मनाइँदै छ । विशेष गरी गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लाहरुमा यो पर्व धुमधामका साथ मनाइन्छ ।
नयाँ पर्वको रूपमा मनाइने यो पर्व तामाङ, शेर्पा, तमु लगायत आदिवासी जनजातिले आ–आफ्नै तरीकाले मनाउने गर्छन् । तामाङ जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारमा रूपमा यो पर्व मनाउँछन् भने शेर्पा र भोटे लगायत अन्य जातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि यो पर्व ग्याल्पो ल्होसारका रूपमा मनाउँछन् ।
ल्होसारको ल्हो भन्नाले वर्ष र छार भन्नाले नयाँ भन्ने बुझाउँछ । मुसा, गोरु, बाघ, खरायो, विरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेल गरी प्रत्येक वर्ष एउटालाई प्रतीकका रूपमा मानी मनाइने गरिन्छ । आफन्त र मान्यजनबाट आर्शीवाद लिइ मनाइने यो पर्वलाई राम्रो लाउने र मिठो खाने पर्वका रूपमा पनि लिइन्छ ।
ल्होसार भुटान, चिन, लाओस, म्यान्मा, जापान, सिंगापुर, मंगोलिया, भारत, थाइल्याण्ड र भियतनाममा पनि मनाइन्छ । नेपालमा यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वको मान्यता दिनुका साथै यो दिन देशभरि सार्वजनिक बिदा पनि दिन थालिएको छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।