२३ मंसिर, काठमाडौं ।
साहित्यकार शोभा दुलालको संस्मरणसङ्ग्रह ‘धूमिस स्मृति’ मंसिर २३ गते, बिहीबार सार्वजनिक भएको छ । संवाद डबली अनामनगरमा सम्पन्न सार्वजनिक कार्यक्रममा नेकपाका नेता हेमन्त प्रसाद ओली ‘सुदर्शन’ ले पुस्तक सार्वजनिक गरेका हुन् ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घकी उपाध्यक्ष एवम् अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष समेत रहेकी स्रष्टा शोभा दुलालको ‘धूमिल स्मृति’ जनयुद्धका घटना र अनुभूति समेटेर तयार गरिएको कृति हो ।
लोकार्पण तथा परिचर्चा कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा नेता सुदर्शनले अहिले फाइटरहरू राइटर बनेको भन्दै खास साहित्यकारहरू छायामा पर्ने अवस्था आएको बताए । यस्ता फाइटर लेखकहरूले जनयुद्धको गरिमा र महत्वालाई ओझेल पार्न खोजे पनि जनयुद्धको बलिदान, त्याग र यसले समाज रूपान्तरणमा पारेको प्रभावमाथि साहित्य लेखिनेमा आफू विश्वस्त भएको बताए ।
कार्यक्रम नेकपाका केन्द्रीय सदस्यसमेत रहेका अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामाको अध्यक्षतामा सम्पन्न भएको थियो
पुस्तकमाथि बिन्दु शर्मा, समीर सिंह र कृष्णहरि भट्टले समीक्षा गरेका थिए भने कार्यक्रमको सञ्चालन महासङ्घका महासचिव खेम थपलियाले गरेका थिए ।