उज्यालो अरूलाई दिएर वर्षौ–वर्षदेखि नै, किन अँध्यारो ओढिरहेछ– यो घाम ? सुनगभा फक्रिएर कोकील वैंसका हजारौं उमङ्गहरू तरूनी बयमा गुञ्जिरहँदा आज किन झरिरहेछन् विश्वासका हिँउफूलहरू –जीवनको डालीबाट ? उमेरसँगै हुर्किएर मनका भित्ताहरूमा मुस्कुराइरहेका यौवनका वहरहरू आज किन निःशब्द छन् वनडढेलोले खाएको उदास सालघारीझैँ ? सपनाका छिँडीहरू खोस्रिएर रसाइरहेका झरनाहरू आफ्नै छातीका कुलेसाहरूमा बगिरहँदा किन खडेरीग्रस्त छ विद्रोह सुसाउँदै हिँड्ने यो समरको नदी ? निश्लोट अन्धकारले डसेपछि कसरी रूदै निस्किरहेछन् क्रान्तिका सहस्र धुनहरू सारङ्गी तारबाट ? र वनफूलका तरेलीहरू पुछेर कसले मेटाइदियो होला हजारौं चरीहरूले गाउँदै गरेको उत्सर्गको गीत ? झण्डाको छायामा बसेर झण्डाकै शिरमा आगो सल्काउनेहरू आज फेरि, किन त्यही झण्डाकै माली बनिरहेछन् ? बन्दरगाहको फटिकझैँ आफैँभित्र रूमलिरहेको त्यो नायकलाई थाहा छ कि छैन होला आस्थाको उचाई नाप्ने कुनै यन्त्रको नाम ? र सुनेको छ कि छैन होला बारीको डिलमा बसेर एक्लै–एक्लै विरह गाइरहने सुवी चराको कथा ? समुद्रलाई छोडेर नदीहरू चुपचाप बाहिरिदै गए भने बगर कुरिरहेको नदीमा खोली र झरनाहरू सुसेल्दै झरेनन् भने र पानीका हरेक थोपाबाट परमाणुहरू एकाएक हराउँदै गए भने सायद, यो जिउँदो धर्तीको पनि अन्त्य हुनेछ ! तिमी यो बेला, आफ्नो तिर्खाको कुरा नगर ! खडेरीग्रस्त टापुहरूमा नदीहरू एक्लै–एक्लै बग्न थालेपछि यतिखेर विचारको समुद्र आफैँ तिर्खाएको छ !