उज्यालो अरूलाई दिएर
वर्षौ–वर्षदेखि नै,
किन अँध्यारो ओढिरहेछ– यो घाम ?
सुनगभा फक्रिएर
कोकील वैंसका हजारौं उमङ्गहरू
तरूनी बयमा गुञ्जिरहँदा
आज किन झरिरहेछन्
विश्वासका हिँउफूलहरू –जीवनको डालीबाट ?
उमेरसँगै हुर्किएर
मनका भित्ताहरूमा मुस्कुराइरहेका
यौवनका वहरहरू
आज किन निःशब्द छन्
वनडढेलोले खाएको उदास सालघारीझैँ ?
सपनाका छिँडीहरू खोस्रिएर
रसाइरहेका झरनाहरू
आफ्नै छातीका कुलेसाहरूमा बगिरहँदा
किन खडेरीग्रस्त छ
विद्रोह सुसाउँदै हिँड्ने यो समरको नदी ?
निश्लोट अन्धकारले डसेपछि
कसरी रूदै निस्किरहेछन्
क्रान्तिका सहस्र धुनहरू सारङ्गी तारबाट ?
र वनफूलका तरेलीहरू पुछेर
कसले मेटाइदियो होला
हजारौं चरीहरूले गाउँदै गरेको उत्सर्गको गीत ?
झण्डाको छायामा बसेर
झण्डाकै शिरमा आगो सल्काउनेहरू
आज फेरि,
किन त्यही झण्डाकै माली बनिरहेछन् ?
बन्दरगाहको फटिकझैँ
आफैँभित्र रूमलिरहेको त्यो नायकलाई
थाहा छ कि छैन होला
आस्थाको उचाई नाप्ने कुनै यन्त्रको नाम ?
र सुनेको छ कि छैन होला
बारीको डिलमा बसेर
एक्लै–एक्लै विरह गाइरहने सुवी चराको कथा ?
समुद्रलाई छोडेर
नदीहरू चुपचाप बाहिरिदै गए भने
बगर कुरिरहेको नदीमा
खोली र झरनाहरू सुसेल्दै झरेनन् भने
र पानीका हरेक थोपाबाट
परमाणुहरू एकाएक हराउँदै गए भने
सायद,
यो जिउँदो धर्तीको पनि अन्त्य हुनेछ !
तिमी यो बेला,
आफ्नो तिर्खाको कुरा नगर !
खडेरीग्रस्त टापुहरूमा
नदीहरू एक्लै–एक्लै बग्न थालेपछि
यतिखेर
विचारको समुद्र आफैँ तिर्खाएको छ !
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।