अँध्यारा,चिसा रातहरुमा
आँसुले आँखा भिझाएर
निद्रा नपरेपछि
प्रायः म
झ्यालबाट बाहिर नियाल्ने गर्छु
मोती चम्केझैँ टल्केका पातहरुसँग
मनमनै भलाकुसारी गर्छु।
शीतले निथ्रुक भिजेका
फूलका थुङ्गाहरुसँग
आँसु खसाल्दै भावविह्वल भएर रुने गर्छु
शीतको थोपासँगै भुइँमा खसेका
फूलका पत्रापत्रा देखेर
मनलाई सान्त्वना दिने गर्छु।
आफू जस्तै आँसु बगाउने साथी पाएर
आज म राहत महसुस गर्दैछु
आँगनको पल्लो छेउ पारिजातको बोटमा
फक्रदै छन् पारिजातका फूलहरु
किनकि
सुर्योदय अगावै झर्नु छ हाँगाबाट।
पारिजातको एउटा हाँगामा
गुँड लगाएर बसेकि छ धोबीनि चरी
मध्यरातको अँध्यारो नभनी
बाटो हेर्दै जागै बसेकी छ
भालेको मौन प्रतीक्षामा।
सायद
धोबिनी चरि अनभिज्ञ छ
आजै दिउसो उसको भाले धोबी
शिकारीको शिकार भएको छ।
(तनहुँ)