वास्तवमा यी आँखा होइनन् यी त कहिले नझर्न वाचा गरेका विजय झण्डाहरू हुन । वास्तवमा यी आँखा होइनन् यी त राता गुलाबहरूका काँडाहरूले बनाएका सुन्दर मुर्तिहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त प्रत्येक मान्छेको मन जित्न सफल आँसु बिनाको एन्डसनको नाटक हुन् । वास्तवमा यी आँखा होइनन् यी त आगो उठाइदिन सक्ने नदीको बेग हुन् । वास्तवमा यी आँखा होइनन् यी त लुकाइएका वेदनाबाट शुक्तिको गर्भमा जमेका क्रान्तिका मोतिहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त गोली भरिएको बन्दूकको ट्रिगरमा राखेका औंलाहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त कहिले नओइलिने सुगन्धित बसन्त फूलहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त तुफानी समुद्रबिच बाटो देखाउँने बत्ती हुन् । वास्तवमा यी आँखा होइनन् यी त इतिहासलाई गबाइदिने छातीमा गडेका बन्दूकका गोलीहरू हुन् । वास्तवमा यी आँखा होइनन् यी त उल्टो बतासमा उडिलाने पंक्षीका फलामे पखेटा हुन् । वास्तवमा यी आँखा होइनन् यी त कुनै समयमा पनि पड्किन सक्ने फ्यूसमा आगो सल्किसकेका बम हुन् । वास्तवमा यी आँखा होइनन् यी त तानाशाहीहरूका लागि एकाइसौ शताब्दीको चिसा चिहान हुन् । वास्तवमा यी आँखा होइनन् यी त असत्यको जरो उखेल्ने आँधी आउँनु अगाडिको राता मौन हुन् । वास्तवमा यी आँखा होइनन् यी त वर्णानुकूल मिलाएका क्रान्तीका शब्दकोश हुन् । वास्तवमा यी आँखा होइनन् यी त चिसो छाती तताइदिने युद्धका मौन शंखघोष हुन् । वास्तवमा यी आँखा होइनन् यी त धर्म र अधर्मबिच निर्णय दिने जनताका न्यायाधिशहरू हुन् । (अनुवादक – लक्ष्मण न्यैपाने, म्यानमार)