(१) पित्तल भएपनि ठिक छ सुनको जलपले टल्काउनु छैन भएकोमा खुसीले रम्ने हो पीरको राँको सल्काउनु छैन ठूला ठूला सपना देखेर किन महत्त्वाकाङ्क्षी हुनु र खै ? आकाशको फल टिप्नैपर्छ भनी पसिना खल्काउनु छैन । (२) कतै नेपाली संस्कृतिमाथि आधुनिकताको लेपन लाएको त हैन? पतिलाई बाबा, पत्नीलाई मम्मी भन्ने अनौठो प्रथा आएको त हैन ? सासूलाई आमासम्म ठिकै हो जेठानी दिदीलाई भाउजू भन्दैछन् ! बोलाउने नाताको हेरफेरले हाम्रो मौलिकतालाई खाएको त हैन ? (३) धितो राख्न सुन माग्यौ सुन दिएँ सुन पनि भुल्यौ पैँचो भनेर नुन माग्यौ नुन दिएँ नुन पनि भुल्यौ आफू रित्तिएर पनि तिम्रो कल्याणमा जुटिरहेँ म ! तिमी बलवान् भएपछि मेरा सबै गुन पनि भुल्यौ । (मदाने-२ गुल्मी)