क्षमता छ जति काम पाउनु पर्छ मानिस काम गरे जति माम पाउनु पर्छ निश्चित ! बेरोजगार हुनुहुन्न नपरोस् भोकले रुन व्यवस्था न्यायको यस्तो आउनेछ कुनै दिन ! (१) मान्छेका बीचमा हुन्न भेदभाव कुनै पनि अछूत,छूतको प्रथा मेटिनेछ सधैँ अनि ! लिङ्ग,जाति तथा नश्ल,रङ्गको भेद हुन्न यो अर्काको पसिना प्यूँने व्यवस्था बन्द हुन्छ त्यो ! (२) मान्छेको चेतना उठ्छ,संस्कृति भिन्न बन्दछ ! अफीम धर्मको त्यागी मर्मको चेत खुल्दछ पाखण्डी लुटका प्रथा सम्पूर्ण अब ढल्दछन् विश्वबन्धुत्वको युग शुरु भो सब भन्दछन् ! (३) मान्छेभित्र कति हुन्थ्यो प्रवृत्ति दुष्ट दानवी ! पैसाको लोभमा भुल्थ्यो इष्टमित्र कुटुम्ब ती अर्कालाई कज्याएर खान आनन्द मान्दथ्यो भुली मानवता जम्मै स्वार्थै मात्र त जान्दथ्यो ! (४) अब खोजेर पाइन्न यी चाला जनलोकमा अतीत गर्तमा सारा पुरिएछन् यथार्थमा ! ढुङ्गा माटो उही नै हो प्रपञ्च अब भिन्न छ खुशी छन् निमुखा सारा लालची तर खिन्न छ ! (५) वर्गविभेदले धर्ति आक्रान्त जब बन्दथ्यो धनको मातमा मान्छे आफैलाई नि भुल्दथ्यो ‘सम्पत्ति,मात्र सम्पत्ति’तृष्णाको पछि दौडदै सम्बन्ध भत्किए सारा मान्छेका बीचमा सधैँ ! (६) सन्तुलन बिगारेर सृष्टि नै छिन्नभिन्न भो धनको मोहमा धर्ति लुटियो, खिन्नखिन्न भो प्रदुषण बढाएर उद्योग अति नै खुले बलात्कार प्रकृतिको गर्नुसम्म खुबै गरे ! (७) कतै सुख्खा खडेरी भो’डुबायो भेलले कतै जथाभावी दुहुनाले प्रकृति रुष्ट भो अझै प्रकृति क्रोधमा सारा निमुखा जनता सधैँ ! के परोस् धनीले भोग्न सुरक्षित बसे सबै ! (८) लोभको चक्रमा धेरै उत्पादन बढाउँदै कुम्ल्याए सम्पदा सारा आफनै हातमा सधै ! करोडौँ जन भासिए क्यै मुठ्ठिभर अग्लिए धनको राज हो यस्तो ज्वाला आक्रोस सल्किए ! (९) पूँजीको दासता त्याग्न जञ्जीर, हत्कडी टुटे हिंसा भो कायमै राख्न, प्रतिकार कडा उठे ! रक्तको मोलमा मात्रै आजादी अब मिल्दछ पसिना,रक्तले सिञ्ची उद्यान तब खिल्दछ ! (१०) विश्व भ्रातृत्वको सच्चा युग आउँछ धर्तिमा लुट्ने र लुटिने प्रथा देखिन्नन् अब सृष्टिमा ! किसान, श्रमजीवीको राज चल्दैछ यसरी पैसाको दास भै मान्छे बस्दैनन् अब क्यै गरी ! (११) अजस्र सिर्जना शक्ति कल्याणनिम्ति लाग्दछ ‘मान्छेको सुखमा मान्छे’ चेतनाभित्र जाग्दछ ! पूँजीको ध्वाँस चल्दैन टुट्छ सामन्ती हैकम सर्वहाराहरू उठ्छन् नायकत्व लिइकन ! ! (१२) उन्मुक्त चरी भै मान्छे हावामा उड्न सक्दछन् मान्छेको हितमा मात्रै विज्ञान, ज्ञान जुट्दछन् अस्त्रशस्त्र हतियार बेकार अब बन्दछन् शान्ति र सुखको राज्य यही हो सब भन्दछन् ! (१३) रोग, भोक ,गरीबीको बिरुद्ध युद्ध चल्दछ अँध्यारो युग ढल्दैछ,सिर्जना दीप बल्दछ भत्किन्छन् राष्ट्रका साँध मेटी रक्तरेखाहरू ‘मान्छे सारा एकै बन्ने’फुल्छन् सङ्कल्पका तरु (१४) राष्ट्रको सब सम्पत्ति सबैलाई बराबर सबै मिली बनाउँछन् आफ्नो सङ्कल्पको घर जब लुट्नु छँदै छैन ‘युद्ध बेकाम बन्दछ !’ हँसिला फूलझँै मान्छे देखिन्छन्,प्रीत फुल्दछ ! (१५) पुरानो चेतनाभित्र ‘म’ ‘मेरो’ भावना थियो अब ‘हामी’ भई मान्छे उच्च सङ्कल्पना लियो ! शान्तिको युग यो सच्चा स्वतन्त्रता फिँजाउछ भोकलाई जिते मात्रै प्रजातन्त्र उदाउँछ ! (१६) सामुहिक हितैनिम्ति मान्छेको ज्ञान लाग्दछ बन्दैन पूँजीको दास त्यो सत्ता अब भाग्दछ सामुहिक संस्कृतिको बस्दैछ जग त्यो नयाँ सौन्दर्य श्रममा खोज्दै पसिनाको मुहानमा ! (१७) शासन धनको भोग्दा अन्याय अत्याचार भो’ ‘लोकतन्त्र’‘अधिकार’ फलाक्दैछ बेकार त्यो पूँजीको लुट प्रवृत्ति त्यागेर बल्ल सुख छ समाजवादी सत्तामा मात्र मान्छे स्वतन्त्र छ ! (१८) भीरपाखा उही नै हुन् नयाँ धर्ती उदाउँछ हाडछाला उही मान्छे नौलो चेत उठाउँछ सबैका श्रमका थोपा चुही सागर बन्दछ त्यही सागर बर्सिन्छ फूल भै अब फुल्दछ ! (१९) नर्कबाट उठी स्वर्ग जस्तै बन्दछ जीवन धर्तीमा पूर्ण समृद्धि समानता लिईकन बिनाश,युद्ध,बिध्वंश पूँजीवादी समाजमा प्रगति,शान्ति,निर्माण समाज्वादी उडानमा ! (२०) लुट, शोषण, अन्याय, दुष्टताको चिहानमा शुरु भो विश्वबन्धुत्व यो सुनौलो बिहानमा ! अब खोजेर पाइन्न पूँजीको दुष्ट शासन शुरु भो न्यायको युग कस्दैछ दृढ आसन !! (२१) (पाल्पा)