मंसिर २०, काठमाडौं ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दिपावली) मंसिर १७ गतेदेखि सुरु भई आज सकिदै छ ।
यमपञ्चकका नामले पनि चिचिने यो पर्व कार्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन्छ ।
यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुर र तेस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । गाई तिहारका नामले पनि प्रचलित यो दिन बिहान गाईको र बेलुका घरका चोटाकोठा, झ्यालढोका सफासुग्घर गरी बाहिर मूलबाटोदेखि घरभित्र पूजाघरसम्म लक्ष्मीका पाइला बनाई साँझमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजाको रातलाई सुखरात्री पनि भनिन्छ । घरभरि माटाका पालामा दीप पज्वलन गरी मनाइने यो दिन युवतीहरूले घरघरमा गएर भैलो गाउने प्रचलन रहेको छ ।
चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन गोरुपुजा गरिन्छ । यो दिन गोबर्धन पर्वत बनाई गाई र गोरुको सँगै पूजा गर्ने चलन छ ।
पाँचौँ दिन अर्थात कार्तिक शुक्ल द्वितीयाका दिन भाइको पुजा गरिन्छ । यो दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टिका लगाएर मनाइन्छ । टिका लगाएपछि दिदीबहिनीले ओखर, कटुस, मरमसला सहित मिष्ठान्न र फलफूल दिने र दाजुभाइले यथासक्य कपडा र दक्षिणा दिने प्रचलन रहेको छ ।
शास्त्रीय परम्परा अनुसार लक्ष्मी पूजाको दिन स्थापना गरिएको दियो, कलश र गणेशसँगै अष्ट चिरञ्जीवी, बलीराज, यमराज, यमुना र धर्मराजको समेत विधिअनुरसार पूजा गरेपछि दाजुभाइलाई तेलको धाराले छेका हालेर कान र कपालमा त्यही तेल लगाइदिएर टीका लगाइदिने प्रचलन भएता पनि आजभोलि यो सबै प्रचलन छोडिदै आएको पाइन्छ ।
पुराना विधिविधान छोडे पनि सप्तरङ्गी टीका र मखमली, गोदावरी र सयपत्रीको माला भने लगाउन छोडिएको छैन । घरघरमा पुगेर देउसी र भैलो गाएर रमाइलो गर्ने तथा घररिवार जम्मा भएर टीका माला लगाउने यो पर्व धार्मिक पर्वका रूपमा भन्दा पनि सांस्कृतिक पर्वका रूपमा विकसित हुँदै आएको छ ।