यसपाली जस्तो बाढी
यसअघि कहिल्यै आएको थिएन गाउँमा ।
...
योपालीको बाढी गाउँ पसेपछि
खेतका लहलहाउँदा बाला देखिएनन्
पसिना बगाएको खेत देखिएन
बस्ती देखिएन, घरहरु देखिएनन्
बाटो देखिएन
आफ्नै पदचापहरु देखिएनन्
...
जताततै समयको धमिलो सागर देखियो
त्यही सागरमा देखिए
उत्साहले बगेका कुटिल आँखाहरु
उमङ्गले बगेका हिंस्रक नंग्राहरु
कुनै उत्सव मनाउन रहरले आधा डुबेका
ब्राण्डेड पहिरनका ब्रण्डेर मान्छेहरु
युट्युबको आहारा खोज्दै उडेका
गिद्धका बथानजस्ता ड्रोन क्यामेराहरु
र विरलै पाइने अवसरजस्तो
बहुत जतनले कमाए जीवनको उमङ्ग ।
...
यसपालीको बाढीमा
बग्दै गरेको बालक बन्यो
टिकटकको भाइरल सिरिज
डुब्दै गरेको घर बन्यो
राष्ट्रिय टेलिभिजनको हाइलाइट समाचार
पुरिदै गरेको खेत बन्यो
सेल्फीडाँडाको नयाँ भर्जन् ।
...
यसपालीको बाढीमा यसरी
हतारहतार निस्किए बाढीले नछोएका मान्छेहरु
मानौ, गंगाजल हो यो बाढी
जस्को स्पर्शले मात्र
जीवनका कठीन पाप भय मुक्त हुनेछन्
अर्बौंको कालो धन सेतो बन्नेछ
कुख्यात डाँकु साधु बन्नेछ
वर्षौंदेखिको भ्रष्टाचारी
लोकप्रिया उद्धारकर्ता कहलिने छ
लोकलाजले कायल भएको नेता
आगामी निर्वाचनको लागि योग्य बन्नेछ ।
...
बस्तीमा बाढी आउनु पनि
उत्सव आउनु रहेछ कसैका लागि
अवसर आउनु रहेछ कसैका लागि ।
...
ओ जनप्रिय नेता !
ओ लोकप्रिय सामाजिक अभियन्ता
ओ जनवादी कलाकार
ओ चर्चित पत्रकार
तिम्रो अन्तिम सेल्फी बाँकी छ
आऊ,
यो गाउँको भग्नावशेष थोरै बाँकी छ ।
(धनगढी, कैलाली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।