म आधुनिकताले जेलिएको मान्छे
मलाई आधुनिकता मन पर्छ
परम्परागत सोचभन्दा पर
म भुल्न चाहन्छु
आधुनिकतामा ।
म भटमास बेचेर न्युटेला किन्छु
किनभने
न्युटेलामा आधुनिकता छ
'मिल्क टी'को पारखी म ,
दूध बेचेर एक कप तातो चिया पिउँछु
म एक पोको म्याङ्गो फ्रुटी पिउँछु दुई किलो आँप बेचेर
स्वास्थ्यप्रति सचेत म,
वर पीपल फाँडेर जिमखाना बनाउँदैछु
किनभने म भुल्न चाहन्छु आधुनिकतामा ।
म ममीलाई आमा भनेर पाखे बन्न चाहन्न
बा आमा भनेर म गर्न चाहन्न आधुनिकताको उपहास
किनभने ड्याडी ममीमा आधुनिकता छ
मेरो शब्दकोशबाट हटाइदिन्छु काका र बडाबाहरू
ती त सबै अंकलहरू हुन्
अंकल भन्न मलाई उमेरको छेकवार छैन
कहिलेकाहीँ म
मेरा ग्रान्डपाका साथीहरूलाई पनि अंकल भनिदिन्छु
किनभने अंकलमा आधुनिकता छ
त्यसैले म संबर्द्धन चाहन्छु आधुनिकतालाई ।
म जन्मदिवस मनाउँदिन
किनभने म पुरातनवादी होइन
म त बर्थडे बनाउँछु
जुठो केक अग्रजलाई नचखाई कसरी मेरो कार्य शुभ हुनसक्छ?
झ्याप्प बत्ती ननिभाई कसरी उज्ज्वल भविष्यको कामना हुनसक्छ ?
ब्रान्डीका/ह्विस्कीका चुस्की नलगाई,
अलिकति जिब्रो नलर्बराई
कसरी बढ्न सक्छ आत्मीयता
म हार्दिकता बाँड्न चाहन्छु डिस्कोभित्र
किनभने म पूर्ण आधुनिक मान्छे हुँ ।
(उदयपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।