दुई छोरा र एउटी छोरीलाई जन्म दिएकी जेठाकी आमा चौँतिस वर्षको उमेरमा बितिन् । छत्तिस वर्षकै उमेरमा विधुर भएका उनलाई नजिकका इष्टमित्र र छरछिमेकीले पनि पुनः बिहे गर्नका लागि सल्लाहा दिएका थिए । उनको भित्री मनमा त बिहे गर्ने चाहना प्रबल थियो तर जेठो छोराको पनि लगभग बिहे गर्न उमेर पुगेको हुँदा आफ्नो दोस्रो बिहेका लागि हच्किएका थिए । आफूले बिहे गर्नुको सट्टा बरू उनले जेठाको बिहे कलिलै उमेरमा गरिदिए ।
बिहे भएको दुई वर्षमा जेठाले छोरो पायो । नातेदारहरु सबैमा खुसियाली छायो । इष्टमित्र, छरछिमेकी सबै आउँथे र बालकलाई हेर्थे । सबैको ओठबाट उस्तै प्रकारको उन्मुक्त हाँसो छुट्थ्यो । परिवारका बाँकी सबै सदस्यमा खुसियाली छाइरहेको थियो तर जेठो भने छोरो पाएको केही समयपछि बढी नै चिन्तित मुद्रामा देखिन थाल्यो । उदासीपन यतिसम्म बढ्दै गयो कि ऊ डिप्रेसनको सिकार बन्न पुग्यो ।
डिप्रेसनको सिकार बन्नुको कारण यही थियो कि– छरछिमेकी, गाउँलेहरु सबैले बालकलाई देखेपछि भन्ने गर्थे, “छोरो त काटीकुटी हजुरबाउकै अनुहारको रहेछ है जेठा !”
(बिरूवा– ६, स्याङ्जा)