उषाको किरण पर्नुभन्दा अघि
ढलपल ढलपल गरिरहेका
ती शीतका थोपाझैँ
ढलपल ढलपल भइरहेका छन् हाम्रो
जातीय अस्तित्व र चिनारी
जुनै जोगी आए पनि
कानै चिरिएको भनेझैँ
भूमिका निर्वाह गरिरहेका छन्
वीर गोर्खे नेताहरूले
हिउँदमा स्याप्प सुकेको
बर्खायामको उर्लंदो खहरे खोलाझैँ
माटो र मुद्दाको कुरा गर्न
बिर्सिएका छन् प्यारा जनताहरूले ।
अचेलघरि सम्झना आउँदछ
ती विराट् जनसभाहरूको
टेबल ठोक्दै दिएका भाषणहरूको
अन्धाधुन्ध गरेका प्रतिज्ञाहरूको
र ती सङ्कल्पहरूको
कति चाँड़ै ग्रहण लागेछ
हाम्रा आँखाहरूले सजाएका
ती उज्ज्वल भविष्यको सपनाहरूमा
छताछुल्ल भई भूमिमा पोखिन पुगेछ
हाम्रा अन्तर हृदयबाट जागेका उत्साहहरू।
मैले बोलाउन सक्ने भए पनि
बोलाउने थिएँ इतिहासका पृष्ठहरूबाट
भगतसिंह र सुवासचन्द्र वोस जस्ता
वीर योद्धाहरूलाई
मैले जन्माउन सक्ने भए पनि
जन्माउने थिए गांधी र नेहरूजस्ता
वीर सपुतहरूलाई
अनि थमाउने थिएँ मेरो जातिको
अस्तित्वको लड़ाई उनीहरूको हातमा
तर म पनि विवश मानव नै ठहरिए
विवश छु हेर्नलाई यहाँको
बेग्लाबेग्लै ताल र नृत्यहरू
अनि बजाउँछु मन नपरी नपरी
मेरा दुई हातका तालीहरू ।।
(पत्थरझोड़ा, डुवर्श)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।