काठमाडौं ।
साहित्यकार पूर्णप्रसाद ब्राह्मणद्वारा लेखिएको लघुकथासंग्रह ‘झिल्का’ को सार्वजनिक भएको छ । नेपाली साहित्यको पहिलो लघुकथासङ्ग्रह ‘झिल्का’ चौथो संस्करणको प्रकाशन लघुकथा समाज, नेपालले गरेको हो । ब्राह्मणको ‘झिल्का’ को तेस्रो संस्करण रत्न पुस्तक भण्डारले २०२१ सालमा प्रकाशित गरेको थियो ।
काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ‘झिल्का’ सार्वजनिक सामूहिक रुपमा गरिएको थियो । कार्यक्रममा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ‘रोदन’ का साथै लघुकथाका फेसबुक समूहका प्रतिनिधिहरुले गरेका थिए । समारोहमा लघुकथा कुनोका विधान आचार्य, हाम्रो लघुकथा पाठशालाका लता केसी, आधुनिक लघुकथा मञ्चका हरिप्रसाद भण्डारी, लघकथा संसारका निशा केसी, लघुकथा सौन्दर्यका श्रीराम राई र नमस्ते आधुनिक लघुकथा मञ्चका शेखर अर्यालले गरेका थिए ।
विमोचन सम्बोधनमा वरिष्ठ साहित्यकार अशेष मल्लले पितृपक्षमा एउटा पुण्य काम भएको उल्लेख गरे । उनले ब्राह्मणका लघुकथा सर्वकालिक रहेको उल्लेख गरे ।
समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले साहित्यकार ब्राह्मणको यो कृति पढ्नै पर्ने कुरामा जोड दिँदै ‘नपढे पछि परिएला’ भने । उनले ‘झिल्का’मा संगृहित लघुकथा पढ्ने मात्रै होइन, त्यसको अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा स्रष्टा सुमन सौरभले लेखक कहिल्यै नमर्ने, सदा जीवित रहने गरेको प्रमाण ब्राह्मणको यो कृति भएको उल्लेख गरे । आज पितृपक्षको समयमा पितृ भइसकेका स्रष्टाको सात दसक पुरानो कृति पुनः पाठकको हातहातमा पुर्याउन पाउनु समाजका लागि आफैमा सुखद क्षण भएको उनले उल्लेख गरे ।
लघुकथा समाज केन्द्रिय समितिद्वारा आयोजित, समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विदुर चालिसे, त्रिलोचन ढकाल,छविरमण सिलवाललगायतले बोलेका थिए ।
कार्यक्रममा पूर्णप्रसाद ब्राह्मणका सुपुत्रहरु दिनेश शर्मा ,नरेश शर्मालगायत अन्य परिवारजनको पनि उपस्थिति रहेको थियो । समाजका अध्यक्ष रोदनले सम्पादन गरेको ‘झिल्का’को मूल्य एकसय पचास राखिएको छ ।