निकै वर्षपछि अचानक उनी भेटिए बाटोमा । उनी अर्थात उत्तमराज खनाल ।
अब उनको पुरा परिचय तिर लागौं । हुन त हाम्रो दिमागमा अरु मानिसहरुलाई हेर्ने र नामाकरण गर्ने विशेष तरिका कुट् कुट् भरिएको हुन्छ जस्तैः जग्गाको कारोबार गर्ने भू माफिया, हाइड्रोपावर जेनेरेट गर्ने कार्य गरे जल माफिया, स्कुल कलेज चलाउने जति सबै शैक्षिक माफिया, अस्पताल खोल्ने चलाउने मेडिकल माफिया आदि आदि ।
धन्य भन्नुपर्छ; म जस्ता बबुरा लेखकहरुलाई चैं कुनै लेबल लगाउन थालिएको छैन । गरिबीले आक्रान्त भएकाले पाती पढेर जीवन यापन गर्न बाध्य बाहुनहरुलाई लेबल लगाएझैं र मलाई लाग्छ आउला त्यो दिन पनि ।
अँ उनी उत्तमराज; घरजग्गाका सफल कारोबारी अर्थात भू माफिया ।
मैले उनलाई भेट्ना साथ अभिवादन गरें र भने-“दाजु के छ हाल चाल ? के गर्दै हुनुहुन्छ अचेल ?”
“के हुनु र ! भाइ । छोरा बुहारी नेपाल छोडेर अस्ट्रेलिया गै हाले र भाउजूले चैं संसारै छोडी । अचेल त यो शरीर पनि रोगै रोगको घर भएकाले खाने पिउने सबै बन्द गरेर वाकिङका नाउँमा दिनभर लखर लखर हिडेर मृत्यु कुर्नु परेको छ”उनले दुखेसो सुनाए ।
उनको कारोबार उत्कर्षमा पुगेको कुनै दिन “याहाँ मान्छेको करोडौंको कुरा छ एक मानाको भात खेर गयो भनेर कचकच गर्छे राँडी” भनेर स्वास्नीलाई गाली गरेको दिन सम्झिएँ ।
(गौरादह-७, झापा)