पारिलो घामको नयनसँग
नयन मिलाउँदै
बादलका घुम्टोहरुले छोपे पनि
अनेकन बाटोहरू भएर
जीवनका सुन्दर फाँटहरूमा
म हिँडिरहेको छु,
संकल्पको डोरी समातेर ।
दुष्मनहरुले मेटाएका
खुसीका डोबहरू खोज्न
अत्याचारले किल्चिएका मुटुका भल्वहरु फेर्न
साहसका सुस्केराहरु पोल्टामा बोकेर
हाम्रो बस्तिभरि हर बिहान र साँझ
म सल्बलाइरहेको छु ।
हिंस्रक चितुवाले झम्टेका
जनताका सपनाहरू ब्युँताउन
सर्पहरुले डसेका
आमाका सुकोमल प्रेमहरु सङ्गाल्न
भोकले अमिलिएका पेटहरुलाइ थुमथुम्याउँदै
सुन्दर योजना बनाइरहेको छु
हो म हरेकको भावनामा सल्बलाइरहेछु ।
हिंड्दाहिंड्दै
कतै गोडा लर्खरायो भने
अभावले कतै
बाटो छेकिहाल्यो भने
बलिदानी सहिदहरुको सपना साक्षी राखेर
प्रेरणाको स्वास पिउँदै
दु:खले डामेका बस्तीहरूमा
म पुग्ने नै छु ।
यो जीवनयात्रामा मलाई
कुनै आँधीबेहरीले रोक्न सक्ने छैन
कुनै स्वार्थले
अङ्कुस हाल्न सक्ने छैन
घाइते संसारको मुहार फेर्न निस्केको म
खिया लागेको इतिहास बदल्न निस्केको म
नयाँ संसारको निम्ति
नयाँ व्यावस्थाको निम्ति
लड्नुपर्ने बाटोमा हिंडिरहने छु
निरन्तर हिंडिरहने छु ।
(काभ्रे)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।