साथी र म शडकमै गफ गरेर उभिइरहेका थियौं । त्यत्तिकैमा एउटा अधबैंसे देखिने माग्ने अगाडी उभियो । निरीह आँखाले हामीलाई हेर्दै उसले भन्यो: ` भगवानको नाममा केही दिनुहोस् ।´
`सबैभन्दा बढी कमाएको दिन कति कमाउछस् ?´ साथीले प्रश्न गर्यो ।
`बढीमा तीनसय जति । पैसाभन्दा गाली बढी दिन्छ मान्छेहरू ।´ उसले जबाफ दियो ।
`पाँचसय दिन्छु । तर मेरा केही शर्तहरू छन् । सबै सर्तहरू मान्नु पर्छ, बिना शर्त ´ साथीले भन्यो ।
`कस्ता शर्त ?´ उसले सोध्यो ।
`पहिला मन्जुर छ कि छैन भन ।´ साथीले भन्यो ।
माग्ने एकछिन चुपचाप उभियो । हामी दुबैतिर सीधा आँखाले हेर्यो र शिर ठाडो गरेर भन्यो : `शर्त सहितको दान स्वीकार छैन ।´ त्यसपछि ऊ आफ्नो बाटो लाग्यो ।
`तँ पनि कहिलेकाहीं खुस्केट जस्तै लाग्छस् यार ! नदिनु नै थियो त विचरालाई सिधै दिन्न भनेको भए भैहाल्थ्यो नि ।´ मैले भनें ।
‘देखिस् त । कम्तीमा यो माग्नेको जत्तिको साहस र बुद्धि त हुनुपर्छ नि यार ।´ उसले भन्यो ।
अलिक पर शडकमा नारा लागिरहेको थियो: एमसिसी चाहिंदैन । देश बन्धक राख्न पाइदैन ।
(अरुण- ५ , भोजपुर)