२८ भाद्र, २०७८, महेन्द्रनगर ।
बरिष्ठ प्रगतिवादी साहित्यकार एवम् चिन्तक प्रलेस, नेपालका पूर्व केन्द्रीय अध्यक्ष आनन्ददेव भट्टको पन्ध्रौं दिनको पूण्यतिथमिा प्रलेस, कञ्चनपुरले अनलाइन माध्यम जुम मार्फत श्रद्धाञ्जली सभा तथा रचना वाचन कार्यक्रम आयोजना गरेको छ ।
प्रलेस, कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष तथा वर्तमान केन्द्रीय समिति सल्लाहकार डा. पुस्करराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो । सहभागीहरुलाई प्रलेस कञ्चनपुरका सदस्य कविराज भट्टले मन्तव्य मार्फत स्वागत गरेको सभाको सञ्चालन प्रलेस कञ्चनपुरका सचिव धर्मानन्द भट्टले गरेका थिए ।
श्रद्धाञ्जली सभामा प्रलेस सुदूरपश्चिम प्रदेश समिति सदस्य नारायण गिरी, प्रदेश सचिवालय सदस्य जगदीश ओझा, प्रदेश तथा जिल्ला समिति सल्लाहकार वीरबहादुर चन्दले मन्तव्य सहित रचना वाचन गरेका थिए । प्रमुख वक्ताका रूपमा रहेका प्रमुख अतथि डा. भट्टले नेपालको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनु भएका आनन्ददेवको निधनबाट सिङ्गो समाज र राष्ट्रलाई अपुरणीय क्षति भएको कुरा बताउँदै उहाँको कृतित्व र व्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
प्रगतिशील प्राध्यापक सङ्गठनको समेत अध्यक्ष रहिसक्नु भएका भट्टका दुई दर्जनभन्दा बढी कृतिहरू प्रकाशित रहेका छन् । कार्यक्रममा कविराज भट्ट, प्रेम प्रकाश कलौनी, धर्मानन्द भट्ट, सतिश, सिद्धनारायण आचार्य लगायतले रचना वाचन गरेका थिए ।