तिम्रो मजेत्रोमा यी कुरुप औंलाहरुले जीवनको ढाई अक्षर गीत लेखिसकेपछि फर्केको साँझ हुनसक्छ प्रिया मैले तिम्रो आँखाभरि प्राचीन स्वप्नको धुन भेटेको । त्यही रात हुनुपर्छ मेरो आँखामा पनि आदिम सपनाहरु पुन: जन्मेका । यो त्यही सपना हो प्रिया जुन सपनामा यी पहाडहरु तिमीसँगै दुई पाइला उक्लेर देउरालीमा केही साँझ सुस्ताएर जीवनकै स्वर्णिम गीत गाउँ भनी तारहरु बुनी पठाएथें । यी त्यही भगनाबशेष आवाजहरु हुन् प्रिया जुन मुटु निचोरेर हर गोधुलीमा बेसुर प्रेमगीतहरु गाई पठाउने र आजपनि हर साँझ घाम डुब्नै लाग्दा बौरी उठिरहने ! हर मध्यरातमा हठात्! सुदुर पूर्वबाट उज्यालो खस्नु अघि नै प्रणयको क्यानभासमा कालजयी फाटक उघ्रनु अघि नै यिनै धुपी र सल्लाका हाँगाहरुमा मेरा प्राचीन सात करोड स्वप्नहरुले तिम्रै मजेत्रोको पासो लगाएर आत्महत्याका अनन्त अनन्त मुर्छित श्रृङ्खलाहरु बुनी पठाउछन् । यतीबेला प्रिया, म यही भत्किएको पहाडको फेँदमा बसेर मौनताको कबिता लेखी हिंड्ने तिम्रा आँखाहरुलाई जन्मनु अघि नै मेरो निधारमा 'एन्टीक क्ल्क टावरले' लेखिदिएको रिक्त गीत तिम्रै मजेत्रोमा बुनी पठाएको छु । (कावासोती, नवलपुर)