समयका डोबहरु अघि बढ्दै गर्दा
उसले समयका तगारोहरु चिनीसकेकी छ
चेतना र उर्जामाथि घुम्टो ओढाएर
अन्माएको नमिठो स्मरण
ऊभित्र घाउ बनेर बल्किरहेको छ
त्यही दर्दले
हिजोआज छोरी माइत आउँदिन ।
उसले बुझेकी छ
उसले थाह पाइसकेकी छ
मात्र दुई वर्ष जेठो दाजु
राष्ट्रको गाथा बनेको छ
ऊ आफू सानो टोलको
कथासम्म बन्न सकेकी छैन
उही दाजु
कर्मक्षेत्रको ध्रुवतारा बनेको छ
उही दाजु
खेल मैदानको रेफ्री (रेफरी) बनेको छ
ऊ आफूले डाडु पन्योको खेलमै युद्ध गरिरहन्छे
उसले यी सबै बुझेकी छ
लैंगिकताले संन्तानमा देखाएको
असर खपेकी छ
त्यही डाहले छोरी माइत आउँदिन ।
समयको पंखसँगै
दाजु आकासमा उडेको छ
धर्तीमा फूल फुलाएर बैनी
खुसी हुन सकेकी छैन
वर्षौ भयो उसको मन दुखेकोछ
त्यसैले छोरी माइत आउँदिन ।
दाजुलाई कलेज पठाएको र
उसलाई अन्माएको साल एउटै थियो
अहिले दाजु
राष्ट्रले गणनामा गर्ने नागरिक भयो
ऊ कसैको श्रीमती भई
दाजु कलाकार भयो
दाजु साहित्यकार भयो
दाजु बहुप्रतिभाशाली भयो
हुन त
ऊ पनि आमा भएकी छ
गृहेणी भएकी छ
भाउजू बुहारी भएकी छ
उसले माइती सम्झिन्न
उसलाई छोरी हुन मन छैन
त्यसैले छोरी माइत आउँदिन ।
चेतनामा रंग पोतेर अन्मिदाको उसको घाउ
अहिले खिल भएर पाकेको छ
त्यो घाउ उसले कसैलाई देखाउन सक्दिन
त्यसैले छोरी माइत आउँदिन ।
ऊ आफुलाई अझै चिनेकै छैन
या चिन्न चाहदिन
उसले धर्तीमा
दुई मानव अस्तित्व खडा गरेकी छ
शक्ति सञ्चार गरेकी छ
डाडु पन्यो समाएर उसले
जीवन बचाएकी छ
दैवी शक्ति धारण गरेकी उसले
भरलाग्दो रहरलाग्दो
घरबार थामेकी छ ।
जाऊँ बूढी
जाऊँ आज छोरी भेट्न जाऊँ
हाम्री छोरीले घर समाज र देशमा
अतुलनीय टेवा पुर्याएकी छ
यदि छोरीले नसमाल्दि हो त घर
सबै सबै घर संसारभर
भग्नावशेष बन्ने थिए
ऊ सृष्टि हो
विद्यमान समाजको
संस्कार दुखेर चित्त दुखाएकी छ
त्यसैले छोरी माइत आउँदिन
(गैंडाकोट, नवलपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।