जता तान्यो
त्यतैतिर तन्किन्छ
तलतिर तान्यो-तलैतिर तन्किन्छ
माथितिर थुत्यो-माथितिरै थुतिन्छ
जता तान्यो-त्यतैतिर तन्किन्छ
कण्डम जस्ता मान्छेहरू ।
टोलमा हेर्यो-टोलमै पनि
गाउँमा हेर्यो-गाउँमै पनि
जताततै
बजारमा पनि
कोलेनीमा
अनि सहरमा-सबैतिर
सजिलै पाइन्छन्
सजिलै भेटिन्छन्
कण्डम जस्ता मान्छेहरू ।
मूल्य लाग्छ सामान्य जस्ता
महत्व नाप्यो महंगो जस्ता
आवश्यकतामा सौदाबाजी हुने
नत्र बेवारिसेझैँ फ्याकिने
सामान्य जस्तो पनि
असामान्य जस्तो पनि
परिस्थितिको परोपकारी जस्ता
त्यसपछि सडकका भिखारी जस्ता
हाइ! विचित्रका गुण धरेका
कण्डम जस्ता मान्छेहरू ।
फुकिदियो-फुलिइजान्छ
खुस्काइदियो-खुस्किइजान्छ
उडाइदियो-उडिइजान्छ
फुटाइदियो-फुटिइजान्छ
काम पनि मज्जाले लाग्न सक्ने
फ्याँक्न मन भए फ्याँक्न पनि सकिने
महत्व भए जस्तो पनि
महत्व नभए जस्तो पनि
सामान्य जस्तो पनि
असामान्य भए जस्तो पनि
खै कस्तो-कस्तो बानी भएका
कण्डम जस्ता मान्छेहरू ।
उस्ले पनि हेर्छ, खै खै भन्छ
त्यसले पनि हेर्छ, है है गर्छ
उसले तान्छ, प्रयोग गर्छ
त्यसले पनि लान्छ, प्रयोग गर्छ
प्रयोग गरेपछि उस्ले पनि फ्याँक्छ
प्रयोग गरेपछि त्यसले पनि फ्याल्छ
प्रयोग गर्छ दुवैले फ्याँक्छ
प्रयोग गरेपछि सबैले फ्याँक्छ
उस्ले पनि फ्याँक्छ
त्यसले पनि फ्याँक्छ
सबैले फ्याँक्छ
सबैले फ्याँक्दा फ्याँकिने
महत्व र मूल्य दुवै सिद्धिएका
छि ! कस्ता
कण्डम जस्ता मान्छेहरू ।
(दिदिङ्ग, सङ्खुवासभा)