म रहरहरुको शहरमा छु
पुजिवादको कंक्रिट जंगलभित्र
रोग, भोक र शोकको कहरमा छु ।
यो शहरमा
मान्छे मरेपछि लगिदैन घाटमा
लगिन्छ सिधै आइसियु र भेन्टिलेटरमा
जहाँ पैसाको बिटामाथि चिता बनाएर
जलाइन्छ जिउँदा लाशहरु
लाशसगै जल्छन
घरबार/खेतबारी/हलगोरु
मानौँ बैतरणी गरिन्छ त्यहाँ
सेता कोटे पण्डितहरुबाट
जहाँ शोकको महासागरमा
मान्छेलाई डुबाएर यो शहरले
समृद्धिको नक्कली सगरमाथा देखाइरहेछ ।
यो शहरमा
भोकाउनेले खान पाउदैन
खान पाउनेलाई भोक लाग्दैन
कोही खाना खोज्न कुदिरहेका
कोही खाना पचाउन कुदिरहेका
यति छरपस्ट छन् खाली पेटहरु
हेर्दा यस्तो लाग्छ
पेटले मान्छेलाई कुदाइरहेको छ नाङ्गै
निर्लज्ज यो शहरको गल्लीहरुमा
पेट पाल्न पेट बेचिरहेका
भोकको बिस्कुन सुकाइरहेका
कुरुप लाग्ने यी छ्याके अनुहार छोप्न यो शहरले
आफ्नो टाउकोमा ठुलाठुला होर्डिङ बोर्ड राखेर
अर्धनग्न स्त्रीलाई कृतिम मुस्कान छर्न लगाइरहेछ ।
यो शहरमा
मान्छे पशु जस्ता छन
पशु मान्छे जस्ता छन
मलमलको ओछ्यानमा सुत्ने बेलाइती कुकुरले
बरण्डाको डिलबाट भुक्छ तल सडक पेटीमा
जहाँ सुतिरहेछन् ढुंगाको सिरानी लगाएर
रिक्सावालाहरु/भरियाहरु/कवाडीवालाहरु
पसिना बेचेर एक छाक खान पुग्दैन कसैलाई
बिहान बेलुका मासुभात छ कुनै पशुलाई
मान्छेको अर्थ गुमाएको यो शहरले
चोक चोकमा मान्छेको शालिक बनाएर
ढुङ्गामा मान्छेको आत्मा खोजिरहेछ ।
म आफ्नै रहरले शहरमा छु
पुर्खाको किस्मत र किपट भुलेर गाउँ छाडेको
म आफ्नै रहरले कहरमा छु
(संखुवासभा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।