लोकतान्त्रिक गणतन्त्रको सिनोमाथि
छाइरहेको छ - गिद्व र चीलहरुको कहर
भुइँमान्छेहरुलाई ढाटेर देशै बेची खाने क्रममा
बाँसझैँ बढिरहेको छ - भोका जुकाहरुको रहर
यही पीडाले प्रताडित देश छट्पटिइरहेको छ-
पानीबाहिर निकालिएको माछोझैँ
भयाक्रान्त छ - यतिबेला ।
अप्रत्याशित रूपमा मसानघाट पुगिरहेका छन् -
नेपाली सपनाका राजकुमारहरु
धरापमा परिरहेका छन् - यमदुतको ।
जोखिमपूर्ण यात्राको क्रममा
अचानक मृत्युवरण गर्नुपर्ने आसन्न परिस्थितिबाट
अनभिज्ञ कोही छैनन् - प्रवेश निषेध देशको ।
बेरोजगार यात्रा अगाडि बढिरहेको छ - निरन्तर
कुनै सुनिश्चितता छैन - गन्तव्यको
कुनै भरोसा छैन - आफ्नै जीवनको
तर पनि चलिरहेको छ - निर्धक्क अहिलेसम्म ।
भयानक दुर्घटित परिणाम
चरम "क्लाइमेक्स" भइरहेको देखिन्छ -
अकल्पनीय दुस्साहसिकताको
जोखिमको निकै गह्रुङ्गो भारी बोकेर बाँचिरहेका
अभिशप्त बेरोजगारहरुको गन्तव्यले
जिस्क्याइरहेको देखिन्छ - अहिलेसम्म
संवेदनशील समयसङ्गै प्रतिकुल परिस्थितिलाई पनि
बाच्ने असीमित इच्छा - आकाङ्क्षा
र, अनिवार्य चाहनाका बाध्यताहरुसँगै ।
कम्ती गहिरो छैन , भित्रैदेखि दुखिरहेको छ -
अचानक हत्याको छिर्काले हिर्काएको गहिरो चोट
अनि त्यसको असह्य अकल्पनीय पीडा ।
झन् धमिलो हुँदै गइरहेको छ - नीलो आकाश
पोखिइरहेका छन् - विक्षुब्ध भइ शोकसन्तप्त
मुसलधारे आँसुका अविरल आधिखोलाहरु ।
क्रूर - त्रासदिक - पाशविकतातिर
लम्किरहेको देखिन्छ - विश्व स्तब्ध हुँदै
देखेर - संवेदनाशुन्य मानवीय चरित्रसँगै
सुनेर - थला परेको मानवताको करुण क्रन्दन ।
भुइँमान्छेहरु घरेलु कामका चीजसँगै
विद्दुतीय वस्तु हुँदै गइरहेका छन् - क्रमशः
निकासी - पैठारीका लागि भनेरै तयार गरिएका
ब्रान्डेड जुत्ता - चप्पल र सेन्डिलहरु जस्तै !
हैरान भुइँमान्छेहरु कोही कुल्ली हुन पुगेका छन्
बेचैन भुइँमान्छेहरु कोही बगरे हुन पुगेका छन्
खाडीको घाम ताप्न मात्रै होइन आमाचकारी गालीसँगै
अमानवीय सजाय थाप्न पनि राजी भइरहेका छन् ।
ऋण लिएर पनि गइरहेका छन् - भुइँमान्छेहरु
घरखेत दिएर पनि गइरहेका छन् - भुइँमान्छेहरु
राहदानी बिना पनि गइरहेका छन् - भुइँमान्छेहरु
आफैं खिएर पनि गइरहेका छन् - भुइँमान्छेहरु
आँसु पिएर पनि गइरहेका छन् - भुइँमान्छेहरु ।
निर्दोष भएर पनि - बाच्ने एउटै ध्याउन्नमा
बाध्यतावश जवर्जस्ती दोषी करार हुनुपर्दा
बिनाकसुर पक्राउ परेर परदेशमा थुनिदा पनि
कोही कसैको छाती खुम्चिदैन किन होला ... ?
रिहाइ हुँदा पनि कसैको स्वाभिमानी ठाडो शिर
झुकेको देखिदैन कहिल्यै पनि किन होला ... ?
हरेकदिन अनन्त गहिराईमा डुब्दै गइरहेको
सगरमाथाको उचाइ बढिरहेको कुरा गर्छौं
बोक्रे भलाद्मी बनेर खोक्रो राष्ट्रियताको कुरा गर्छौं
कहिल्यै थाक्दैनौ हामी पराधीन स्वाधीनतासङ्गै
स्वाभिमानविहीन स्वाभिमानको बकम्फुसे कुरा गरेर
पल्टाइरहेर झुटो इतिहासका असम्बन्धित पृष्ठहरु
वीर गोर्खालीको गौरवपूर्ण वीरगाथा फलाकेर ... !
हामी अहिलेसम्म स्वतन्त्र रहेर पनि पराधीन भयौं
हामी अहिलेसम्म पराधीन भएर पनि स्वतन्त्र रह्यौ
कसैको आश नभई बाच्नै नसक्ने हामीहरु
कसैको खास नभई बाच्नै नसक्ने हामीहरु
हुँदा - हुँदा कसैको दास नभई बाच्नै नसक्ने हामी
बिक्नैका लागि भए पनि कसैको भइदिनु परेको छ
टिक्नैका लागि भए पनि कसैको भइदिनु परेको छ ।
कसैको हुँदाखेरि केही भैहाल्छ कि ... ?
भन्ने झिनो आश हुँदोरहेछ
कसैको नहुँदा फेरि केही पनि हुँदैन कि ... ?
भन्ने बलियो त्रास हुँदोरहेछ
एउटाको भएपछि फेरि अर्कोले स्वीकार गर्दैन
जो कोही कसैको होइन अर्थात हुनै चाहदैन
स्वाभिमानी देशभक्त नेपाली हुनुमा गर्व गर्छ
उसलाई त साच्चिकै अनाथ भन्दा पनि हुँदोरहेछ
झन् उसैको अन्तरात्मा धरधरी पो रुदोरहेछ ।
यहाँ अहिले यस्तै रहेको छ
पहिले पनि यस्तै भएको थियोे
अब पनि फेरि यस्तै हुनेछ
कसैको हुँदा पनि सुख छैन
कसैको नहुँदा पनि सुख छैन
भोज सकिएपछिको घरजस्तो
आन्दोलन सकिएपछिको सडकजस्तो
सम्हाल्नै नसक्नेहरुद्वारा गरिएको नेतृत्वजस्तो
सरकार नै नभएको राज्यजस्तो अराजक परिस्थितिहरुमा
बिकामी बनेर स्वदेशको बोझ बन्नै नचाहनेहरुको
पराजित अभिमान अन्ततः पलायन हुँदोरहेछ
र , अन्तिम समयलाई समेत जिस्क्याउने कठोर निर्णय गर्दोरहेछ ।
एकमुठ्ठी परान धान्नैकालागि जोखिम उठाउदै गर्दा
बिदेशिने बिकामीहरुसङ्ग आफ्नै भन्ने देश पनि बाकी हुँदो रहेनछ ।
स्वतन्त्र - स्वाधीन र सार्बभौमसत्तासम्पन्न
तथाकथित लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको
स्वाभिमानी नागरिकको रूपमा सम्बोधित हुनेहरु
देश नभएको अनुभूतिले निराश छन् - आफ्नै जीवनदेखि ।
प्रत्येक नागरिकको पछाडि सिङ्गो राज्य हुनुपर्ने थियो
राज्य भएर उनीहरूभित्र सिङ्गो देश बोल्नुपर्ने थियो
देश भएर उनीहरूभित्र बुलन्दित आवाज बोकेर
जनताहरु अफ्ठ्यारोमा बोल्नुपर्ने थियो
देशलाई देशजस्तै हुन पनि देशबासीहरु देश हुनुपर्थ्यो
किनभने, देशबासीहरुको स्पर्शमा हासिरहने देश
देशबासीहरु हिंडेको देखेर देशबासीसँगै हिंड्न सिक्ने देश
देशबासीहरु जुरुक्कै उठिदिदा आकाश भइ उठिरहेको हुन्छ
देशबासीहरु रुदैगर्दा बाढी बनेर बेपत्तासँग बरालिइरहेको हुन्छ ।
जब देशबासीहरु नै सिङ्गो देशको स्वाभिमानलाई
चटक्कै बिर्सिएर ठाडो शिर झुकाइरहेका हुन्छन्
पाइलैपिच्छे आफैंले आफैंलाई चुकाइरहेका हुन्छन्
तब देश टनकपुर भएर दुखिरहेको हुन्छ
देश महाकाली भएर दुखिरहेको हुन्छ
जब देशबासीहरु नै पराजित मानसिकता बोकेर
केवल ज्युदो लास बनेर बाचिरहेका हुन्छन्
तब देश नालापानीदेखि कालापानी हुँदै
सुगौली सन्धि भएर सुस्तासम्म खुम्चिरहेको हुन्छ ।
देश त हाम्रो पनि हुनुपर्ने होइन र ?
तर , यो देशलाई हाम्रो हुन कहिल्यै दिइएन
हामी पनि त यही देशकै नागरिक हौँ
तर , खै हामीसङ्ग नेपाली नागरिकता ?
खै हामीसङ्ग नेपाली हौँ भन्ने बलियो प्रमाण ?
चाहेर पनि देखाउन सक्दैनौं छाती चिरेर
छातीभरि रहेको देशप्रतिको माया
चाहेर पनि लेखाउन सक्दैनौं मन खोलेर
मनभरि रहेको देशप्रतिको ममता ।
हामीलाई अहिलेसम्म पनि देश भएर बाच्नै दिइएन ।
जसले चिच्याउदै हाम्रो प्यारो देश नेपाल भनिरहेका हुन्छन्
उनीहरू कोही ज्ञात त कोही अज्ञात सहिद बनिरहेका हुन्छन्
जस - जसलाई आफ्नो भनेर देशले पत्याइरहेको हुन्छ -
केही अपवाद बाहेक तिनीहरू कोही कसैले पनि
हाम्रो प्यारो देश नेपाल भन्दै - भन्दैनन्
सच्चा स्वाभिमानी सुपुत्र बन्दै - बन्दैनन्
सिङ्गो देशले गरिरहेको विश्वासलाई लत्याउदै
देशलाई कसैले आफ्नै बाउको बिर्ता बनाइरहेका हुन्छन्
देशलाई पुरै सिध्याइदिएर खुशीयाली मनाइरहेका हुन्छन्
कसैले अपुताली सम्झिएर हकदाबी मात्रै गरिरहेका हुन्छन् ।
(स्याङ्जा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।