बैठकका गरमागरम छलफलहरूबाट ऊ क्रमश: हरायो र बैठककै एउटा कुनामा एक्लै एक्लै क्याण्डीक्रस खेलेर बस्न थाल्यो ! सडकमा जुलुसका अग्रपङ्तिबाट ऊ क्रमश: हरायो जुलुसमै तर पुच्छारतिर जुलुसमै तर एकदम चुपचाप हिँड्न थाल्यो र, कुनै दिनबाट ऊ सडककै कुनै चौतारीमा झोक्राएर बस्न थाल्यो ! सभाका अग्निवर्षी भाषणहरूबाट ऊ क्रमश: हरायो दर्शकदीर्घामा बसेर ताली ठोक्दै चिच्याउने समुहबाट पनि ऊ क्रमश: हरायो ! आँधीजस्तै कविता कोरल्ने कामबाट ऊ क्रमश: हरायो अलिना मलिना कविताहरूको बाटो हुँदै ऊ रुन्चे कविताको लोकमा अवतरित भयो अलि पछि त ऊ कविताको लोकबाट पनि वेपत्ता भयो । हरेक हराभरा मौसमहरूबाट ऊ क्रमश: हरायो र, उजाड उदास मौसममा बस्न थाल्यो ! कोही हराउनु भनेको कतै पनि नहुनु होइन रहेछ बरु हुनु पर्ने स्थानमा नहुनु रहेछ ! यसरी ऊ मान्छेका बस्तीहरूबाट हरायो मान्छेका चहलपहलहरूबाट हरायो मान्छेका मनका रहलपहलबाट पनि हरायो ! आगो निभेको चिसो अँगेनोजस्तै एक थान चिसो अस्तित्व बोकेर ऊ अचेल आफैंलाई पनि खोजिहिँड्छ खरानी खोस्रिहेर्छ तर अहँ ऊभित्रको आगो उहिलै निभिसकेको छ अब ऊ कहिलै बल्न सक्दैन आगोजस्तो ! यसरी हराउने मान्छे ऊ मात्र नभएर तपाई पनि हुन सक्नुहुन्छ म पनि हुन सक्छु अरु कोही पनि हुन सक्छ ! प्रिय साथीहरू ! के तपाईभित्रको तपाई सही ठाउँमा छ ? (भक्तपुर)