अकुत सम्पति कमाएका कार्यालय प्रमुख अञ्जन भ्रष्टाचारमा परेर पाँच बर्ष जेल चलान भए । मुद्दा लड्ने वकिललाई राम्रै पारिश्रमिक दिएकोले एकै बर्षमा उनी जेल मुक्त भए ।
जेलमा रहँदा उनले दिन बिताउन एउटा उपन्यास लेखेका रहेछन् । उनको उपन्यास चर्चित संस्थाले प्रकाशित गरी लोकार्पणको आयोजना गर्यो । महासचिवले उद्घोषण गरे । प्रकाशकीय प्रमुखले सभापतित्व गरे ।
अग्रज चर्चित उपन्यासकार प्रमुख अतिथि भए । स्थानिय पालिका प्रमुख बिशिष्ट अतिथि भए । बरिष्ठ समीक्षकले समालोचना गरे । आख्यानकारले शुभकामना दिए । सशक्त लेखकको रूपमा प्रमुख अतिथि र विशिष्ट अतिथिले दोसल्ला ओढाए । स्रष्टाहरूले कानेखुसी गरे । दर्शक दीर्घाले ताली बजाए ।
“वरिष्ठ उपन्यासकार अञ्जनको कृति बिमोचन” शीर्षकमा तस्बिर सहितका समाचारहरू संप्रेषित प्रकाशित भए । सामाजिक संजालका भित्ताभरि तछाड मछाड गरी लेखिए “बधाई तथा शुभकामना !”
(श्रीनगर, पाल्पा)