बिहान सबेरै उठ्नु, बढारकुँढार गर्नु , देव पितृलाई सम्झेर धुपबत्ती गर्नु र गाईबस्तुको धन्दा सकेर दूध पुर्याउन डेरीसम्म जानू विजयरामको दैनिकी हो ।
उनी भन्दा अलि अबेर उठ्छिन्,खाना पकाउछिन् छोराछोरीलाई स्कुल जान ठिक पार्छिन् उनकि पत्नी रजनी । आफू पनि स्कुलमै जागिरे हुनाले ठिक पर्छिन् र बच्चाहरु सँगै स्कुल जान्छिन् ।
काम सानो ठुलो हुँदैन भन्ने सोच राख्छ । आफूले भ्याए सम्मको काम आफै गर्छ । यो काम श्रीमतिको हो, उस्ले गर्नुपर्छ भनेर साचेर राख्दैन ।
सोझो छ र इमान्दार पनि छरछिमेक इष्टमित्र सबैका लागि। बोल्दा भने अलि भकभकिएर बोल्छ बस् यत्ति ।
रजनी राम्री थिइन् । उमेर पनि भर्खर उनन्तिसमा टेकेकी तर व्यवहार भने अलि टर्रो । उनको सौख अलि बढी नै थियो। स्वभाव पनि आरिसे खालको । अरुको श्रीमतीले यस्तो गरे, उस्तो गरे । अरुको श्रीमानले यस्तो किनिदिए उस्तो किनिदिए । यो भएन त्यो भएन ।
छोरा छ । छोरी छे । सानो परिवार छ । घरमा केही कुराको अभाव हुन कहिल्यै दिएको छैन । घर बस्दा दिक्क लाग्ला भनेर बेलामौकामा घुमफिर गर्न पनि लगेकै छ। तर पनि उनलाई सन्तुष्ट बनाउन कहिल्यै सकेन। उनले विजयरामलाई गनगनाउन कहिल्यै छोडिनन् ।
तर ऊ सहन्थ्यो । एउटा आगो भए अर्को पानी हुनुपर्छ। नत्र सधैं कलह हुन्छ । घर बिग्रन्छ भनेर ।
ठुलो स्वर सम्म पनि कहिल्यै गरेन । बरु कसरी हुन्छ, उनको चित्त बुझाउन प्रयास गरिरहे ।
एकदिन बिहानै स्कुलको बैठक छ भनेर हिँडेकि आज दुई हप्ता भयो अत्तोपत्तो छैन । प्रहरीमा पनि उजुरी दिइएको छ। खोजतलासको लागि ।
छोराछोरी बाबा, मम्मी कहाँ जानु भयो ? कहिले आउनु हुन्छ ? भनेर सोधिरहन्छन्, खोजीरहन्छन् मैले के जवाफ दिनु ! स्कुलमा को हो कार चढेर आउँथ्यो रे! कति पटक घुम्न पनि गएका थिए रे! एकजना छिमेकिले देखेको रे ! गाउँभरि हल्ला चलेको छ, उनी अर्कैसँग हिँडेको ।
थकित ,निराश र चिन्तित भएर विजयराम बेलुकी ओछ्यानमा ढल्किएर टि.भि हेरिरहेको थियो। उस्ले सपनामा पनि नसोचेको सुन्छ र देख्छ । आजको मुख्य समाचार विशेष प्रहरीको अप्रेशनमा मुम्बईको कोठीबाट एघार नेपाली महिलाको उद्दार । जस्मा उनको श्रीमतीको पनि नाम र तस्विर थियो !
छेउमै सुतिरहेका छोराछोरीको अनुहार हेर्यो । भक्कानिदै आँशु बगायो मनमनै सोच्यो चाहिने भन्दा बढी लालचाको परिणाम ।
(गोठाटार, काठमाडौ)