खाली, एक ठाउँमा रहेको बन्दुक
बुद्ध हुन्छ।
कसैले बन्दुकको नालमा
गुलाफ सिउरीदिन्छ भने
उत्तिकै सुन्दर लाग्छ,
सुन्दरीको शिरमा सिउरीएसरी।
सिरान हालेर सुते
सिरानी बन्छ।
टेकेर हिँडे
लठ्ठी
ऊ केवल बन्दुक हुन्छ,
हतियार हुँदैन ।
जब
आँखामा अशन्ति बोकेकोले
आफ्ना फलामे हातमा लिन्छ बन्दुक
अनि मुटुभरिको बारूद गोलीमा भरेर
ओकल्न थाल्छ आगो,
तब मात्र बन्दुक हतियार बन्छ।
बुद्ध पनि हतियार बन्छ।
हतियार सदैब खतरनाक हुन्छ.....।।
प्रकृतिले बनाएका हरेक चिज-
जीवित/निर्जीव,
आफै कदापि हतियार हुँदैन,
हतियार न बनाइएसम्म....।
बुद्धत्व
बुद्ध हुँदैन।
प्रकृति बुद्वत्व हो,
वस्तु बुद्ध....।
बुद्ध अराजक हुन सक्छ,
तर बुद्धत्व कदापि अराजक हुन सक्दैन।
वस्तु हतियार बन्न सक्छ
तर वस्तुमा रहेको प्रकृति
कदापि हतियार हुँदैन।
बुद्धत्व
कर्ताबाट टाढा हुन्छ,
कृयाबाट टाढा हुन्छ।
त्यसैले
हजारौंको गर्दन रेटेको खुकुरी,
हजारौको प्राण लिएको बन्दुक
जब फलामे हात बाट छुट्टिन्छ,
ऊ हतियार रहँदैन।
जो हतियार हुँदैन,
ऊ बुद्धत्व हुन्छ।
शान्ति
हतियार बनेर आउँदैन,
हतियार बनाइएर आउँदैन।
शान्ति
केवल बुद्ध बनेर आउँदैन,
बुद्ध बनाइएर आउँदैन।
शान्ति
बन्दुक र बुद्ध
हतियार न बने आउँछ.....!!
(गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।