आज फेरि
तिमी आँधी भएर उड्छु भन्छौ
कहाँदेखि उड्छौ र कहाँ पुगेर बस्छौ बास ?
म त देख्दिनँ कुनै उद्गम दिशा
म त भेट्दिनँ कतै विश्रान्ती रेखा
धेरै भएको छैन समय एउटा आँधी आएर गएको
आउने बेला
बढार्छु भन्थ्यो पतिङ्गर कुरीतिले थुपारेको
तर जाने बेला जीवनका हाँगाहरु भाँचेर गयो
छानाहरु उडाएर गयो ।
आज फेरि
तिमी ज्वालामुखी निस्कछु भन्छौ
कहाँबाट निस्कन्छौ र कहाँ पुगेर रोकिन्छ तिम्रो बहाव ?
म त देख्दिनँ कुनै उद्गम भूमि
म त देख्दिनँ कुनै विश्रान्ती ध्रुव
धेरै भएको छैन समय एउटा ज्वालामुखी आएर गएको
आउने बेला
विभेदका पर्खालहरु भत्काइदिन्छु भन्थ्यो तिमीले जस्तै
तर जानेबेला आस्था र सपनाहरु खाग बनाइदिएर गयो ।
आज फेरि
तिमी महाप्रलय उठ्छु भन्छौ
कुन साइतमा उठ्छौ महाप्रलय ?
र हिँड्ने छौ कुन अठोट लिएर ?
म त कुनै गन्तव्य देख्दिनँ तिम्रो गतिको
म त कुनै भरोसा देख्दिनँ तिम्रो अठोटको
धेरै भएको छैन समय
एउटा महाप्रलय आएर गएको
आउने बेला
सृष्टि गर्छु भन्थ्यो तिमीले जसरी नै
नौलो युग र सुन्दर जीवनको
तर जाने बेला
भग्नावशेष बनाएर गयो सभ्यताहरुको ।
अस्तिसम्म
हिँडेको थियो आँधी मान्छेहरुका मनमा
निस्केको थियो ज्वालामुखी मान्छेहरुका मस्तिष्कमा
उठेको थियो ज्वारभाटा मान्छेहरुको कर्ममा
हिजो साँझपख यी सबै गए
मान्छेहरुलाई एक्लै छाडेर गए
आज मान्छे बाँचिरहेछ एक्ला एक्लै मान्छेसँग ।
यतिबेला
आस्थाको पहाडमा पहिरो चलेर
थुनिदिएका छन् मान्छेका जाँगरका मुहानहरु
एकले अर्कोलाई देख्दैन मान्छे
एकले अर्कोलाई ठान्दैन आफ्नो
एकले अर्कोसँग मिलाउँदैन हात
एकले अर्कोसँग साट्दैन मन
मरिसकेका छन् विश्वासहरु मान्छेका ।
पत्याउँदैनौ ?
ऊ त्यहीँ छन्
विश्वास गाडिएका चिहानहरु मान्छेका
सञ्जीवनी भए तिमीसँग
एक अञ्जुली छर्किदेऊ तिनका थाप्ला–थाप्लामा
पुनर्जीवित बन्छन् कि हेरुँ बिहानको घाम जस्तै !
घाम प्रत्येक दिन साँझमा मर्छ
एक मन सञ्जीवनी पिलाएर
जसरी बिउताउछिन् रजनीले
आफ्नो काखमा घामलाई
जसरी हुर्कन्छ घाम एउटा तन्नेरो रहर बनेर
जसरी रोपिदिन्छ घामले
रजनीको गर्भमा युगीन जाँगर
जसरी युग जन्मन्छ बिहान भएर
जसरी मुस्कुराउँदै हिँड्छ एउटा नवीन युग
त्यसरी नै बिउताई हेर
समाधिस्थ ती विश्वासहरुलाई
त्यसरी नै रोपेर हेर नवीन प्रेम र आस्था
र हुर्काऊ तिनका मन–मस्तिष्कहरुमा जाँगर
थमाउ तिनका हातहरुमा औजार
आँधीजस्तै गतिशील बनून् ती
निर्माण गरुन् तिनले
एउटा ज्वालामुखी आपैंmभित्र
पैmलाउन् सबैतिर तिनले आयतन
रोपुन् ती आपैंmले
महाप्रलयले बीज ज्वालामुखीको गर्भमा
र जन्मियोस् एउटा नवीन युग
र बाँचून् अशंख्य नवीन जीवनहरु !
(बेलकोटगढी, नुवाकोट)